चीनले प्रतिबद्दता जनायो लुम्विनीको पूर्वाधार बिकासमा लगानी गर्न

२६ भाद्र २०७५, मंगलवार १८:३६

 

काठमाडौं– चीनले बुद्धको जन्मस्थल लुम्बिनीको पूर्वाधार विकासमा लगानी गर्ने प्रतिबद्धता जनाएको छ । सिचुवान प्रान्त लशान नगरपालिकाले लुम्बिनीको पूर्वाधार विकासमा आवश्यक लगानी गर्ने प्रतिबद्धता जनाएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारी नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले चीनको सिचुवान प्रान्तमा आयोजित अन्तर्राष्ट्रिय पर्यटन मेलामा सहभागिता जनाएको थियो । सोही मेलामा भएको द्विपक्षीय छलफलमा लशान नगरपालिकाले नेपालको लुम्विनीको पूर्वाधार विकासमा आवश्यक लगानी गर्ने प्रतिबद्धता जनाएको हो ।

मेलाबारे जानकारी दिन मंगलबार काठमाडौंमा पत्रकार सम्मलेनमा बोल्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेयकुमार त्रिपाठीले मेलाको क्रममा लुम्बिनीमा रहेको मायादेवी मन्दिर र अशोक स्तम्भको स्मारक लशान प्रान्तमा स्थापना गरेर लुम्विनीको अझै बढि प्रचारप्रसार गर्ने सहमति पनि गरिएको जानकारी दिए ।

भाद्र २१ गतेदेखि २४ गतेसम्म सम्पन्न सो अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाली हस्तकलाका सामग्रीहरुको प्रर्दशनी पनि गरिएको थियो । चीनले नेपालको लुम्बिनीको विकासमा लगानी गर्ने चाहना व्यक्त गरेको मन्त्री अधिकारीले जानकारी दिए । नेपालमा धार्मिक पर्यटन बृद्धि गर्न चीनबाट आवश्यक सहयोग उपलब्ध हुने मन्त्री अधिकारीको विश्वास छ । ५६ वटा राष्ट्रहरु सहभागी रहेको सो सम्मेलनमा नेपाललाई सहआयोजकको सम्मान प्रदान गरिएको थियो ।