चीनबाट ल्याइएका कसैमा पनि कोरोना संक्रमण छैनः मन्त्रालय

७ फाल्गुन २०७६, बुधबार १५:४३

काठमाडौ , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको हुबेई प्रान्तबाट उद्धार गरी ल्याइएका एक सय ७५ जनामै कोरोना भाइरसको संक्रमण नभेटिएको जानकारी बुधबार दिएको छ। मन्त्रलायका अधिकारहरुले पत्रकार सम्मेलन गरेर यसबारेको जानकारी दिएका हुन्। कोरोनाको केन्द्रबिन्दु वुहान सहरबाटसमेत ल्याइएका नेपालीमा कोरोनाको कुनै लक्षण नदेखिएको जनाउँदै स्वास्थ्य मन्त्रालयले आमनागरिकलाई ढुक्क हुन अपिल गरेको छ।
चीनको हुबेई प्रान्तमा रहेका १८५ मध्ये १७५ नेपालीलाई फागुन ३ मा चीन गएको नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले फागुन ४ गते बिहान काठमाडौंमा ल्याएको थियो। अहिले उनीहरुलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रलाई क्वारेन्टाइनमा परिणत गरेर राखिएको छ।