चिनियाँ राष्ट्रपति नेपाल आउनु खुशीको कुरा हो, हामी उहाँलाई स्वागत गर्न चाहन्छौंः पूर्व परराष्ट्रमन्त्री डा महत

२२ आश्विन २०७६, बुधबार १५:२३

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले चिनियाँ राष्ट्रपतिको यही असोज २५ र २६ गते हुने दुई दिने राजकीय भ्रमणको आफ्नो पार्टीले स्वागत गर्ने बताउनु भएको छ । उहाँले भन्नु भयो ,‘चिनियाँ राष्ट्रपति नेपाल आउनु खुशीको कुरा हो । हामी उहाँलाई स्वागत गर्न चाहन्छौं ।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता महतले आफू परराष्ट्रमन्त्री भएकै बेला नेपाल भ्रमणको लागि निमन्त्रणा गरिएको सुनाउँदै ढिलै भएपनि नेपाल आउनु खुशीको कुरा भएको स्पष्ट पार्नु भयो । उहाँले भन्नु भयो ,‘म परराष्ट्रमन्त्री भएको बेला नेपाल भ्रमणको लागि निमन्त्रणा दिएका थियौं, उहाँले त्यतिवेला पनि उपयुक्त समयमा आउने कुरा गर्नुभएको थियो । उहाँ अब आउँदैहुनुहुन्छ, यो हामी सबैको लागि खुशीको कुरा हो ।’

एक साक्षात्कारमा बोल्दै उहाँले चीन नेपालको छिमेकी मित्रराष्ट्र मात्रै नभएर एउटा नजिकको मित्र भएको बताउनु भयो । उहाँले भन्नु भयो,‘चीनको समृद्धि अहिले दिनानुदिन बढिरहेको छ । विश्वमै चीन शक्तिशाली देशको रुपमा स्थापित भैसकेको छ । हामीले चीनसँग राम्रो सम्बन्ध राख्नुपर्छ ।’ आफ्नो पार्टीले विपी कोइरालाको पालादेखि नै चीनसँग सुमधुर सम्बन्ध राखेको पनि महतले स्पष्ट पार्नु भयो । उहाँले आफूहरुले कुन देशसँग कुन राजनीतिक पद्धती वा प्रणाली छ भनेर सम्बन्ध राख्ने भन्दापनि एउटा देशको अर्को देशसँग आपसी हितमा केन्द्रित रहेर सम्बन्ध राख्नुपर्ने बताउनु भयो ।

चीनसँगपनि सुमधुर सम्बन्ध राख्दै अघि बढ्नुपर्ने बताउँदै महतले एक–अर्काको जायज चासो र चिन्ताप्रति गम्भिर हुनुपर्ने बताउनु भयो । नेपालले आफ्नो राष्ट्रिय आवश्यकत्ता प्राप्त गर्ने केही अधिकार क्षेत्र रहेको सुनाउँदै सोहीअनुसार सम्बन्ध अघि बढाउनुपर्नेमा महतले जोड दिनु भयो । उहाँले भन्नु भयो,‘नेपालले आफ्नो राष्ट्रिय आवश्यकत्तालाई ध्यानमा राखेर आफ्नो एजेण्डा अघि सार्नुपर्छ ।’

आफू नै परराष्ट्रमन्त्री हुँदा बिआरआई परियोजनाबारे सम्झौता भएको सुनाउँदै अहिलेको सरकारले त्यसलाई कुशलतापूर्वक कार्यान्वयनमा ध्यान दिनुपर्ने महतको भनाई छ । उहाँले चिनियाँ लगानी नेपालमा आमन्त्रण गर्नुपर्ने पनि सुझाव दिनु भयो । उहाँले भन्नु भयो ,‘नेपालमा चिनियाँ लगानी भित्र्याउन सक्यौं भने दुई देशबीच रहेको व्यापार घाटा घटाउन सकिनेछ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको क्रममा हुने उच्चस्तरीय छलफलमा यो विषयमा कुराकानी हुनुपर्छ । नेपालबाट चीन निर्यात हुने वस्तुमा शुन्य भन्सार लागत कायम गर्नेबारे पनि कुराकानी हुनुपर्छ ।’

त्यस्तै, उहाँले नेपालले चीनसँगको सम्बन्धमा सडक सञ्जाल अघि बढाउनेबारे ध्यान दिनुपर्ने पनि सरकारलाई सुझाव दिनु भयो । उहाँले भन्नु भयो ,‘चीनसँग हामीले १२ महिनै चल्ने सडक सञ्जाल बनाउनुपर्छ । त्यस्तै, अरु नाकाहरुपनि खोल्नुपर्छ ।’ पछिल्लो समय नेपालमा रेलवेबारे धेरै बहस भएको सुनाउँदै महतले रेलमा लगानी गर्दा समयमै प्रतिफल नआउनेतर्फ सरकारको ध्यानाकार्षण गराउनु भयो ।

भारत र चीनबीच जबसम्म नेपाल भएर व्यापार हुँदैन्, तबसम्म रेलमा लगानी गर्नु नेपालको लागि घाटा हुनेपनि उहाँको संकेत छ । उहाँले भन्नु भयो,‘ऋण लिएर रेलवेमा लगानी गर्दा यसले प्रतिफल दिँदैन् । हामीले लगानी मुल्य त परै जाओस्, सञ्चालन मूल्यपनि उठाउन सक्दैनौं ।’ महतले नेपालले आन्तरिक सडक सञ्जालको विकासमा नै बढि जोड दिनुपर्ने सुझाव पेश गर्नु भयो ।

तर, ऋणमा नभई अनुदानमा रेल बनाउने कुरा भए त्यो भने स्विकार्य हुने उहाँको तर्क छ । चीनबाट काठमाडौं आउने रेलमात्रै नभएर भारतबाट काठमाडौं आउने रेलपनि अनुदानमा नै बनाउनुपर्ने उहाँको धारणा छ । उहाँले भन्नु भयो,‘हामीले आफैं बनाउन सक्ने अवस्था छैन् । त्यसैले ऋणमा पनि बनाउनुहुँदैन् । बरु, अनुदानमा नै बनाउनुपर्छ ।’

नेपालको आफ्नो साधन र स्रोतलाई ध्यान दिएर अघि बढ्नु नै आजको आवश्यकत्ता रहेको महतको भनाई छ । ऋणको बोझमा बस्नुभन्दा पहिले यसको आर्थिक प्रतिफल के आउँछ ? र कहिलेसम्म आउँछ भन्ने कुरामा बढि ध्यान दिनुपर्ने पनि उहाँको भनाई छ । उहाँले भन्नु भयो,‘रेलको कुरा गरेर बढि सेन्टिमेन्टल हुन जरुरी छैन् ।’ महतले नेपालले छहरे–टोखा सुरुङमार्गको बारेमा सोच्नुपर्ने बताउनु भयो । उहाँले भन्नु भयो,‘सुरुङमार्गको विकास गर्न सकियो भने चीनसँगको सडकमार्ग एकदमै छोटो हुन्छ ।’

महतले चीनको एक चीन नीतिको चासोमा नेपाल सधैं प्रतिबद्ध रहेको पनि बताउनु भयो । उहाँले भन्नु भयो ,‘नेपालको भूमी कसैको खिलाफमा पनि प्रयोग हुन दिँदैनौं । नेपाल यसप्रति सजग छ । हामी हाम्रो राष्ट्रिय स्वार्थका आधारमा र आपसी हितको आधारमा अघि बढ्छौं ।’