चितवनमा बस पल्टिदा १७ जना घाइते

२७ मंसिर २०७६, शुक्रबार १२:४५

चितवन , रत्ननगर नगरपालिका–२ टाँडीस्थित राजमार्गमा बस पल्टिँदा १७ जना घाइते भएका छन्। बिहीबार राति बाराबाट काठमाडौंतर्फ जादै गरेको ना ७ ख ४७५५ नम्बरको बस दुर्घटना भएको हो । ४२ जना यात्रु बोकेको बस सहचालक २६ वर्षीय क्षितिज तामाङले चलाएको प्रहरीले बताएको छ। सहचालक तामाङ फरार रहेका छन्।
उक्त दुर्घटनामा घाइतेमध्ये बाराको कलैया–२ का ३५ वर्षीय गौरीशंकर यादव, २१ का २४ वर्षीय रामबाबु यादव, गढीमाइ नगरपालिका–१ का ४४ वर्षीय मनोज शाह र भारत मोतिहारीका १८ वर्षीय खुसीलाल यादवको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सामान्य घाइते भएका अन्यको टाँडीको बकुल्लर सरकारी अस्पतालमा उपचार भइरहेको छ।