चिकित्सा शिक्षा विधेयक पारित गर्न पहल गर्छुः सभामुख महरा

१० माघ २०७५, बिहीबार १५:२९

काठमाडौं, सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयक पारित गर्न कोशिस गर्ने बताउनु भएको छ ।बिहीबार सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले शुक्रबार बस्ने संसद बैठकमा पनि चिकित्सा शिक्षा विधेयक पारित गर्न पहल गर्ने बताउनु भएको हो ।

‘भोलि पनि शान्तिपूर्ण तरिकाले चिकित्सा शिक्षा विधेयक पास गर्न कोशिस हुन्छ’ उहाँले भन्नु भयो ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना नेताको नाममा खुलेका अस्पताल केन्द्र सरकार मातहत नराखेको विरोधमा संसद अवरुद्ध गर्दै आएको बेला सभामुखले यस्तो बताउनु भएको हो । सभामुख महराले अस्पतालको विषय र चिकित्सा शास्त्र विधेयकको विषय अलग अलग भएकाले कांग्रेसले संसद अवरुद्ध गर्न आवश्यक नभएको बताउनु भयो ।सरकारले चिकित्सा शिक्षा विधेयक छिटो पारित गर्नुपर्ने भनिरहेको भन्दै महराले सत्तापक्ष र प्रतिपक्षबीचको छलफलबाट सहमति खोज्ने बताउनु भयो ।सभामुख महराले कांग्रेसलाई मर्यादित भएर संसदीय व्यवस्था अवलम्बन गर्न आग्रह गर्नु भएको छ । ‘लामो समयदेखि संसदीय व्यवस्थामा अभ्यस्त हुँदै आउनुभएका उहाँहरुलाई मर्यादित भएर संसदीय व्यवस्थामा लाग्न मेरो अनुरोध छ’ सभामुखले भन्नु भयो ।