चार नेपाली महिला पत्रकार सगरमाथाको चुचुरोमा, फहराए नेपाल पत्रकार महासंघको झण्डा चुचुरोमा

९ जेष्ठ २०७५, बुधबार ०६:३६

जेठ ९, काठमाडौं ।

चार जना नेपाली महिला पत्रकारहरुले सगरमाथाको सफल आरोहण गरेका छन् । नेपाल टेलिभिजनकी रोजिता बुद्धाचार्य, राससकी रोशा बस्नेत, मेघा टेलिभिजनकी कल्पना महर्जन र स्वतन्त्र पत्रकार देउराली चाम्लिङले बुधबार बिहान सगरमाथाको सफल आरोहण गरेका हुन् ।

उनीहरु बुधबार बिहान ६ बजे सगरमाथाको चुचुरोमा पुगेको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

महिला पत्रकारहरुको समूहमा पाँच सदस्य थिए । तर, न्यूज २४ टेलिभिजनकी प्रियालक्ष्मी कार्की भने अस्वस्थ भएपछि तेस्रो आधार शिविरबाटै फर्किएकी छन् ।

‘समानताका लागि बुलन्द आवाज’ भन्ने मूलनारासहित ‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण-२०१८’ समूह सगरमाथा चढ्न गएको थियो । टिमको नेतृत्व रोजिताले गरेकी थिइन् । उनले झमक घिमिरेको जीवनीमा आधारित फिल्ममा पनि अभिनय गरेकी छन् ।

आरोही महिला पत्रकारहरुले नेपाल पत्रकार महासंघको झण्डा पनि चुचुरोमा फहराएका छन् ।

राससका अनुसार यस वर्षको वसन्त ऋतु आरम्भ भएपछि हालसम्म ३४० भन्दा बढीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । बसन्त ऋतु सकिन केही दिन बाँकी रहँदा अब एक-दुईजना आरोहीमात्रै चुचुरोमा पुग्न बाँकी छ ।