चलचित्र ‘हैरान’ मा ‘राष्ट्रिय प्रतिभाको खोजी’

१९ बैशाख २०७५, बुधबार ०७:४१

वैशाख १९, काठमाडौं ।

चलचित्र ‘हैरान’को निर्माणपक्षले प्रतिभाको खोजी गर्ने भएको छ । ‘हैरान च्यालेञ्ज’ नाम दिएर ‘राष्ट्रिय प्रतिभाको खोजी’ गर्न लागिएको बताइएको छ ।

चलचित्रका निर्देशक सौगात विष्टसँगै कलाकारहरु गजित विष्ट , निर्मल शर्मा , सागर लम्साल , आरोही शर्मा मोफसल यात्रामा निस्किएका छन् ।

टिमले अडिसन लिनुका साथै स्थानीय सञ्चारकर्मी र दर्शकसँग चलचित्रको बारेमा कुराकानी पनि गर्ने बताइको छ । २० गते झापाको विर्तामोडबाट सुरु गरिने अडिसन २१ गते विराटनगर ,२२ गते हेटौंडा, २३ गते चितवन, २४ गते बुटवल, २५ गते नेपालगञ्ज, २६ गते दाङ , २७ गते पोखरा तथा २८ र २९ गते काठमाण्डौंमा हुनेछ । अडिसनमा ८ देखि २५ वर्ष उमेरका प्रतिभाहरुले सहभागिता जनाउन सक्ने बताइएको छ ।

जेठको ४ गतेबाट रिलिज हुन लागेको यो चलचित्रले कमेडी जनरामा समाजको गहन कथालाई उठान गरेको बताइएको छ । यस चलचित्रलाई सौगात बिष्टले निर्देशन गरेका छन् । चलचित्रमा सत्यराज आचार्य , गजित विष्ट , मोहमद वसिम राजा , सागर लम्साल, निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी , एन्जल राई , आरोही शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।