गौतम बुद्धको जन्मस्थलबारे विवाद र बहस गर्न आवश्यक छैन : ओली

१७ बैशाख २०७५, सोमबार ०९:०७

वैशाख १७, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धको जन्मस्थलबारे विवाद र बहस गर्न आवश्यक नभएको कुरा बताएका छन् ।

२५६२ औं बुद्ध जयन्तीका अवसरमा लुम्बिनी विकास कोषले लुम्बिनीमा आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले बुद्ध नेपालमै जन्मिएकाले यसमा दोधारमा पर्न आवश्यक नभएको बताए ।

प्रधानमन्त्री ओलीले नेपालको विकास र समृद्धिका लागि शान्ति र स्थिरता आवश्यक भएको बताएका छन् । उनले लुम्बिनीलाई शान्तिको अनुभूति हुने ठाउँको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा फल्ने र फुल्ने विरुवाहरु रोप्न आग्रह गर्दै प्रधानमन्त्रीले त्यहाँ सुगन्ध, ज्ञानमा मात्रै होइन, हावामा पनि हुनुपर्नेमा जोड दिए । उनले बुद्ध जयन्तीलाई विश्व उत्सवकोरुपमा मनाउन सरकारले आवश्यक पहल गर्ने जानकारी दिए । प्रधानमन्त्रीले रामग्रामदेखि तिलौराकोटसम्मको क्षेत्रलाई विशेष महत्वका साथ विकास गरिने प्रतिबद्धता जनाए ।