गौचन हत्यारा अझै पहिचान हुन सकेन, दोषी पत्ता नलागेसम्म शव नबुझ्ने

२४ आश्विन २०७४, मंगलवार १४:५४

काठमाडौँ, २४ असोज । अज्ञात समुहको गोली प्रहारबाट सोमबार मृत्यु भएका नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नको अझै पहिचान हुन सकेको छैन ।

घटनापछि प्रहरीले एक सयभन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपनि अझै हत्याराको पहिचान गर्न नसकेको हो । सोमबार दिउँसो ३ बजेतिर काठमाडौँ, नयाँबानेश्वरको खरिबोट प्रयागमार्गमा अज्ञात व्यक्तिले चलाएको गोलीबाट घाइते भएका गौचनको बानेश्वरको सिभिल अस्पतालमा मृत्यु भएको थियो ।

घटनालगत्तै सोमबार दिउँसो हतियारसहित काभ्रेका छिरिङ तामाङ, सञ्जय तामाङ र दिलीप तामाङलाई गोँगबु क्षेत्रबाट प्रहरीले अपराह्न पक्राउ गरेको थियो । तर उनीहरुको गौचन हत्यामा संलग्नताबारे नखुलेको प्रमुख आयुक्त चन्दकोे भनाई छ । प्रहरीले घटनाको सम्बन्धमा प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको छ ।

उता, नेपाल निर्माण व्यवसायी महासङ्घले घटनाका दोषी पत्ता लगाई कारबाही नगरेसम्म अध्यक्ष गौचनको शव नबुझ्ने भएको छ । महासङ्घका महासचिव रामशरण देउजाले घटनाका दोषीलाई पत्ता नलगाएसम्म अध्यक्ष गौचनको शव नबुझ्ने बताउनुभएको हो ।
सोमबार दिउँसो नयाँबानेश्वरमा अज्ञात समूहको गोली लागेर मृत्यु भएका अध्यक्ष गौचनको शव परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल राखिएको छ ।

यसैगरी, महासङ्घले आज जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख केदारनाथ शर्मालाई भेटेर गौचनलाई शहीद घोषणा गर्नुपर्ने, हत्यारालाई तत्काल खोजी गरी कारबाही गर्नुपर्ने तथा निर्माण व्यवसायीको सुरक्षाको प्रत्याभूति दिनुपर्ने माग गरेका छन् ।