गोलाप्रथाबाट लाप्राकवासीलाई घडेरी, डिजाइन परिवर्तन

२१ फाल्गुन २०७४, सोमबार ०९:५४

फागुन २१, काठमाडौं ।

धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुब्सिपाखामा बन्दै गरेको एकीकृत नमूना वस्तीको घडेरी छनोटका लागि स्थानीयबासीलाई गोलाप्रथा गराइएको छ ।

आइतवार एनआरएनका अध्यक्ष भुवन भट्टको उपस्थितिमा गोलाप्रथा गरिएको हो । ‘निर्माण भइरहेको नमूना वस्तीलाई १६ वटा ब्लकमा बिभाजन गरेर ‘ए’देखि ‘टी’सम्म नम्वरिङ्ग ग¥यौं,’ एनआरएनका दिपेश सिंले भने, ‘अनि चिठ्ठा थुताएर त्यही नम्वरको आधारमा स्थानीयलाई घडेरी छनोट गराएका हौं ।’


सेतो कार्ड पाएका ५ सय ७३ भूकम्प पीडितहरुलाई घडेरी छनोटका लागि गोलाप्रथा गराइएको सिंले बताए । ‘गोलाप्रथाबाट को कुन ब्लकमा बस्ने भन्ने निश्चित भयो, घर निर्माण भइसकेपछि आफ्नो ब्लकमा रहेको घरमा उहाँहरु बस्नुहुन्छ,’ उनले भने ।

ब्लकपिच्छे घरधुरीको संख्या फरक रहने सिंको भनाइ छ । ‘एउटा ब्लकमा कम्तिमा २० देखि बढीमा ६८ घरधुरी हुन्छ,’ उनले भने ।

हाल निर्माण भइरहेको एकीकृत नमूना वस्तीका घरहरुको मोडेल केही परिवर्तन हुने भएको छ । भुवन भट्ट अध्यक्ष भएसँगै घरको मोडेलमा केही परिवर्तन गर्न लागिएको एनआरएनले जनाएको छ ।

यसअघि जस्ताको छाना छाउने भनिएपनि त्यसको ठाउँमा बिटुमेन्ट सिट लगाउने तयारी गरिएको एनआरएनका प्राविधिक प्रवन्धकसमेत रहेका सिंले जानकारी दिए ।

त्यस्तै बाँस र माटो हटाएर काठको फलेक र ब्लक राख्ने तयारी गरिएको उनले बताए । तर एकीन भने नभइसकेको उनको भनाइ छ ।

घर निर्माणका लागि स्थानीयले ढुंगा र काठ आफैं जुटाउनुपर्ने हुन्छ । सामुदायिक वनबाट स्थानीयले ल्याएको काठ चिरानदेखि ढुवानीसम्म एनआरएनले गर्ने धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।