गोर्खाको आकाशमा हेलिकप्टर दुर्घटना भयो

२३ भाद्र २०७५, शनिबार १८:१३

 

काठमाडौं– गोरखाको सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटना भएको छ । ६ जनाको मृत्यु भएको पुष्टि जिल्ला प्रहरी कार्यालय नुवाकोटले गरेको छ ।

यस्तै एक महिला गम्भीर घाइते भएको पनि प्रहरीले जनाएको छ । घाइते हुनेमा गोरखाको चुमनुब्री गाउँपालिका–२ की ल्हो आनी डोल्पा डिकी रहेकी छिन् ।

घटनास्थल निकै दुर्गमस्थानमा रहेकाले उनलाई डोकोमा राखेर अस्पतालतर्फ लगिएको छ ।

घटनास्थलमा शनिबार दिउँसो स्थानीय प्रहरी टोली पुगेको थियो ।

शनिबार बिहान नुवाकोट र धादिङको सीमानामा रहेको मेघाङको जङ्गलमा हेलिकोप्टर दुर्घटनामा परेको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर टुक्राटुक्रा अवस्थामा फेला परेको बताइएको छ ।

हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए । हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु , रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ की ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौँबाट उद्धारका लागि पुगेको नेपाली सेनाको एक र निजी वायु सेवा प्रदायक कम्पनीको चार हेलिकोप्टर दुर्घटनास्थलमा घना जंगल र प्रतिकुल मौसमका कारण अवतरण गर्न नसक्दा दुई घण्टाको पैदल दूरी वरै रोकिएका छन् । हेलिकप्टर ल्याण्ड हुन नसकेकै कारण गम्भीर घाइतेलाई राजधानी ल्याउन ढिलाइ भएको प्रहरीले जनाएको छ ।