गोरखपुर–रुपन्देही ग्यास पाइपलाइनको गृहकार्य अगाडि बढ्यो

१ फाल्गुन २०७६, बिहीबार १०:०५

काठमाडौं, भारतको गोरखपुरदेखि नेपालको रुपन्देहीसम्म ग्यास पाइपलाइनको गृहकार्य अगाडि बढेको छ ।

रासायनिक मल उत्पादन तथा घरायसी काममा समेत प्रयोग गर्ने उद्देश्यले ग्यास ल्याउने पाइपलाइनको गृहकार्य अगाडि बढेको हो । ल्याइने ग्यास प्राकृतिक अर्थात् लिक्युफाइड नेचुरल ग्यास हुने छ ।

भारतको नयाँदिल्लीमा बसेको नेपाल–भारत पेट्रोलियम तथा ग्यास संयुक्त कार्य समूहको बैठकमा गोरखपुरदेखि रुपन्देहीसम्म अन्तरदेशीय प्राकृतिक ग्यास पाइपलाइन बिछ्याउनेबारे दुई मुलुकबीच छलफल भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

पुस २७ र २८ गते भारतको नयाँदिल्लीमा नेपाल–भारत पेट्रोलियम तथा ग्यासका लागि दुईदेशीय कार्यदलको पहिलो बैठक बसेको थियो । बैठकमा नेपालले गोरखपुरदेखि रुपन्देहीसम्म प्राकृतिक ग्यासको पाइपलाइन बिच्छयाइदिन भारतसमक्ष प्रस्ताव गरेको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तथा सो दुईदेशीय बैठकमा नेपाल पक्षको नेतृत्व गरेका ध्रुव घिमिरेले सो कार्यलाई अगाडि बढाउन भारतले नेपालसँग ‘माग प्रक्षेपण’ गरेको र त्यसको तयारी अहिले मन्त्रालयले गरिरहेको जानकारी दिए ।

‘माग प्रक्षेपण’का साथै नेपालमा प्राकृतिक ग्यास बजारको सम्भावित अवस्था र भविष्यबारे समेत भारत नेपालसँग स्पष्ट हुन खोजेको सहसचिव घिमिरेले बताए ।

‘भारतीय पक्षको मागअनुसार अहिले मन्त्रालयले भविष्यमा मुलुकलाई आवश्यक पर्नसक्ने प्राकृतिक ग्यासको आवश्यकता र मागको विवरण संकलन गरिरहेको छ । संकलन र अध्ययन कार्य सम्पन्न भइसकेपछि भारतीय पक्षलाई ‘माग प्रक्षेपण’ बुझाइने छ’, उनले भने, ‘माग प्रक्षेपण बुझाइसकेपछि प्रस्तावित पाइपलाइन निर्माणको मोडालिटी, लागतबारे अध्ययन गरी निर्माण अगाडि बढाइने छ ।’

विगत लामो समयदेखि नेपालमा रासायनिक मलको कारखाना स्थापना गर्ने कुरा उठे पनि काम हुन सकेको छैन ।

रासायनिक मल कारखाना स्थापना गर्न लगानी बोर्डले समेत अहिले अध्ययन गरिरहेको छ । रासायनिक मल उत्पादन गर्न ‘कच्चा पदार्थ’का रूपमा प्राकृतिक ग्यास अनिवार्य चाहिन्छ ।

नेपालजस्तो कृषिप्रधान मुलुकमा अहिलेसम्म रासायनिक मल कारखाना स्थापना हुन सकेको छैन । प्राकृतिक ग्यासले रासायनिक मल उत्पादनका साथै खानासमेत पकाउन सकिन्छ तर त्यसका लागि एलपी ग्यासजस्तो सिलिन्डरमा बोटलिङ गर्न मिल्दैन, भान्साघरसम्म सीधै पाइपलाइन पु¥याउनुपर्छ ।
(आजको गोरखापत्र दैनिकबाट)