गोकर्णेश्वर नगरपालिका खुल्ला दिसामुक्त क्षेत्र घोषणा

१७ पुष २०७४, सोमबार ०६:३३

पुस १७, काठमाडौं । ऐतिहासिक गोकर्णेश्वर नगरपालिकालाई खुल्ला दिसामुक्ता घोषणा गरिएको हो छ ।  गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आइतबार आयोजीत कार्यक्रममा काठमाडौं क्षेत्र ३ का सांसद कृष्ण राई, प्रदेशसभा सदस्य १ का सांसद छिरिङदोर्जे लामा, प्रदेशसभा २ का सांसद रामेश्वर फुयाँल, नगरपालिका प्रमुख सन्तोष चालिसे र उपप्रमुख शान्ति नेपालले संयुक्त रुपमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरे ।

खुल्ला दिसामुक्त क्षेत्र घोषणासंगै नगरपालिकाको दुर्गम एवम् शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जले छोएका वडा नं. १ र २ लाई तीन÷तीन लाख अनुदान दिने सार्वजनिक गरियो । यो अनुदानले दुवै वडाले सार्वजनिक शौचालयको निर्माण गर्नेछन् । सो अवसरमा सांसद राईले खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने तर कार्यान्वयन नहुने, खुल्ला दिसामुक्त क्षेत्रमा सार्वजनिक शौचालय नहुने अवस्था आउन नदिन नगरपालिकालाई आग्रह गरे । प्रदेशसभा सदस्य लामा र फुयाँलले स्वास्थ्य र सरसफाईका लागि नगरपालिकाको घोषणा सकारात्मक भए पनि निरन्तर अनुगमन गरेर बढी मानिसको भीडभाड हुने सार्वजनिक स्थलमा साझा शौचालय निर्माण गर्न माग गरे । नगर प्रमुख चालिसेले बाग्मती नदीको शिरो भागको नगरपालिका भएकाले गोकर्णेश्वरलाई खुल्ला दिसा एवम् ढलमुक्त बनाउन नगरपालिकाले नियमित अनुगमनमा खट्ने प्रतिबद्धता जनाए ।

उपप्रमुख नेपालले महिला एवम् बालबालिकाको स्वास्थ्यका लागि खुल्ला दिसामुक्त क्षेत्र घोषणाले सहयोग पु¥याउने विचार व्यक्त गरिन् । कार्यकारी अधिकृत दीपक कोइरालाले धार्मिक, ऐतिहासिक र पर्यटकीय हिसावले महत्वपूर्ण यो नगरलाई सफा एवम् स्वच्छ राख्न सबैको सहयोगको अपेक्षा राखे । यसअघि विभिन्न विद्यालय एवम् सामाजिक संघसंस्थाले जनचेतनामूलक ¥याली आयोजना गरिउको थियो ।