गृहद्वारा सुरक्षा रणनीति परिवर्तन

१७ मंसिर २०७४, आईतवार ०१:२०

मंसिर १७, काठमाडौं । प्रतिनिधसभा तथा प्रदेशसभा सदस्यको दोस्रो चरणको निर्वाचन नजिकिएसंगै चुनावी सभा र उम्मेद्वार लक्षित बम आक्रमणका घटना रोक्न सरकारले सुरक्षा रणनीति परिवर्तन गरेको छ ।

चुनावको पूर्वसन्ध्यामा समेत शीर्ष नेता केन्द्रित आक्रमण नरोकिएपछि आलोचना खेपिरहेको गृहमन्त्रालयले सुरक्षा रणनीति परिवर्तन गरेको हो । सुरक्षा व्यवस्थामा खलल पु¥याउने व्यक्तिलाई तत्कालै पक्राउ गरेर कडा कारवाही गर्न गृहले मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ । गृहले सुरक्षा निकायलाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका गरी ३ लाख बढी सुरक्षाकर्मी परिचालन गरेको छ । तरपनि बम आक्रमणका घटना भने रोकिएका छैनन् । यस्ता गतिविधिलाई निस्तेज पार्न सबै निकायबीच समन्वय गरी सुरक्षा रणनीति चुस्त र दुरुस्त पार्न पहिलेको व्यवस्थामा केही परिवर्तन गरिउको गृहमन्त्रालयले जनाएको छ ।

गृहमन्त्रालयमा शनिवार आयोजित पत्रकार सम्मेलनमा गृह प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले दिएको जानकारी अनुसार परिवर्तित व्यवस्थाअनुसार संयुक्त गस्तीसंगै सादा पोसाकका सुरक्षा तैनाथी बढाइने छ । ‘परिवर्तित व्यवस्था अनुसार केही निर्वाचन विरोधी घटना पनि अब नियन्त्रणमा आउने छन्,’ उनले भने ‘मुलुकका विभिन्न स्थानमा भएका निर्वाचन विरोधी घटनामा संलग्न सरकारी नियन्त्रणमा आइसकेका छन् ।’

प्रया सबै विस्फोटका घटनामा ‘हिट एन्ड रन’ अर्थात् बम फालेर भाग्ने प्रवृत्ति देखिएकाले यसलाई निस्तेज बनाउन विशेष टोली परिचालन गर्ने गहृले जनाएको छ । – सौर्य दैनिक