गुर्जा हिमाल आरोहण गर्न गएका ४ नेपालीसहित ८ जनाको मृत्यु

२७ आश्विन २०७५, शनिबार १४:५६

 

म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका नौ जनामध्ये आठ जनाको शव भेटिएको छ

गुर्जा हिमालको आधार शिविरमा पुगेका पाँचजना कोरियाली नागरिक र चारजना नेपाली टोलीमध्ये आठ जनाको शव भेटिएको हो । हिमालको आधार शिविरमा पुगेर वास बसेका आरोही टोली आँधीहुरी र हिमपहिरोको दुर्घटनामा परेको हुनसक्ने धौलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए।

उनका अनुसार, आधार शिविरमा उनीहरुको शव अप्ठ्यारो ठाउँमा रहेकाले निकाल्न सकिएको छैन् । उद्धारको लागि पुगेको हेलिकप्टरसमेत उद्धारमा कठिनाई देखिएपछि फर्किएको र थप स्रोत र साधन लिएर पुन उद्धारमा जाने तयारी भएको बताइएको छ । असोज २१ गते सात हजार १९३ मिटर उचाइको गुर्जा हिमाल आरोहणको लागि दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वमा  टोली आधार शिविरमा पुगेका थिए ।

आरोही टोलीलाई भेट्न गएको टोली निर्धारित समयमा नफर्किएको र सञ्चार सम्पर्कसमेत विच्छेद भएपछि गुर्जाबाट खोजीको लागि गएका स्थानीयवासीको टोलीले उनीहरु मृत अवस्थामा भेटिएको पुष्टी गरेको वडाध्यक्ष छन्त्यालले जानकारी दिए ।