गुणस्तरहिन औषधि बिक्रीवितरण गर्ने औषधि पसलहरुमाथि कडा कारवाही गर्ने स्वास्थ्यमन्त्री यादवको चेतावनी

३१ बैशाख २०७६, मंगलवार १२:१८

काठमाडौं , सरकारले गुणस्तरहिन औषधि बिक्रीवितरण गर्ने औषधि पसलहरुलाई कडा कारवाही गर्ने चेतावनी दिएको छ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरहिन औषधि बिक्रीवितरण गर्ने औषधि पसलहरुमाथि कडा कारवाही गर्ने चेतावनी दिनु भएको हो ।

उहाँले चिस्यानमा नराखिएको औषधि बिक्रीवितरणमा पनि प्रतिबन्ध लगाउने बताउनु भयो । मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उपप्रधानमन्त्री यादवले चिकित्सकहरुको ‘प्रेसक्रिप्सन’ विना औषधि बिक्रीवितरण गर्न नपाउने गरी सबै औषधि पसलहरुमा सरकारले कडा निगरानी राख्ने योजना पनि अघि सार्नु भयो ।

उपप्रधानमन्त्री यादवले सरकारले सिधैं कम्पनीबाट औषधि खरिद गर्ने कानुनी व्यवस्था गर्न जरुरी रहेको पनि बताउनु भयो । उहाँले सार्वजनिक खरिद ऐनको प्रक्रियाबाट औषधि खरिद गर्दा महँगो पर्न जाने भएकाले त्यसलाई रोकेर सरकार आफैंले सिधै कम्पनीबाट औषधि खरिद गर्ने तयारी भइरहेको जानकारी दिनु भयो ।