गर्मीका बीच पोर्चुगलको जंगलमा डढेलो, ८०० अग्निनियन्त्रकले आगो निभाउने प्रयास

२२ श्रावण २०७५, मंगलवार १३:५४

साउन २२, काठमाडौं ।

पोर्चुगलमा तापक्रमले कीर्तिमान बनाउँदै गर्दा त्यहाँका जंगलमा भयंकर डढेलो लागेको छ ।

अल्गार्भे नामक स्थानको मोन्चिकमा ८०० अग्निनियन्त्रकले आगो निभाउने प्रयास गरिरहेका छन् । उनीहरूलाई पानी खसाउने १२ वटा विमानले साथ दिइरहेका छन् ।

विगत तीन दिनदेखि डढेलो दन्किरहेको छ र अलेन्टेजोसम्म फैलिएको छ । नजिकैको ओडेमिरामा बस्ने मानिसलाई अन्यत्रै सारिएको छ ।

एस्ट्रेमोजमा अर्को सानो डढेलोले ६ जनालाई घाइते बनाएको छ र तिनमा दुईजना गम्भीर घाइते छन् ।

तापक्रम बढेर अल्भेगामा शनिवार ४६.८ डिग्री सेल्सियस पुगेको थियो । पोर्चुगलमा सबभन्दा बढी तापक्रम सन् २००३ मा अमरेलेजामा ४७.३ डिग्री सेल्सियस पुगेको थियो ।