खुटियादेखि वीपीनगरसम्म सुरुङमार्ग बन्ने पक्काः सांसद आले

१७ कार्तिक २०७६, आईतवार १४:२८

काठमाडौं , डोटीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य प्रेमबहादुर आलेले केपी ओली नेतृत्वको सरकार विकास तथा संमृद्धिका लागि प्रतिबद्ध रहेको बताउनु भएको छ ।
शनिबार द नेक्स्ट ड्रिम इन्टरटेनमेन्ट ले धनगढी रङ्गशालामा आयोजना गरेको सुदूरपश्चिम स्कूल डान्स स्टार प्रतियोगिता २०१९ मा प्रमुख अतिथि रहनु भएका उहाँले यस खालका प्रतियोगिताले सुदूरपश्चिममा भएका प्रतिभाको उजागर गरी राष्ट्रियस्तरमा पहिचान बनाउन सहज हुनका साथै १० कक्षासम्म अध्ययनरत रहेका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनको लागि उपयुक्त हुने बताउनु भयो ।
सांसद आलेकै विशेष पहलमा गत फागुन ७ गते प्रधानमन्त्री केपी ओलीले सहजपुर–वीपीनगर– बागछेडा सडक कालोपत्रेको शिल्यान्यास गर्नु भएको थियो । यसको लागत २ अर्ब २० करोड छ । यसको धमाधम काम भइरहेको छ भने यसपालि समेत १ अर्ब ५० बजेट विनियोजन भएको छ । धनगढीमा पहिलो पटक भएको प्रतियोगिताले विद्यार्थीहरुमा थप हौसला बढाउने उल्लेख गर्दै यो सरकार दृढ इच्छाशक्तिसहित समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पुरा गर्न अहोरात्र खटिरहेको दावी गर्नु भयो । ‘सुदूरश्चिममा विकास र संमृद्धि ल्याउन सबैभन्दा छोटो राजमार्गको रुपमा रहेको उत्तर दक्षिण नाका जोड्ने धनगढी–खुटिया–दीपायल– बझाङ्–चैनपुर–उरै हुँदै ताक्लाकोट सडकलाई यो सरकारले उच्च प्राथमिकतामा राखेर सहायक राजमार्गको रुपमा स्तर वृद्धि गरेको छ’ आलेले भन्नु भयो । धनगढीदखि उरैसम्म जम्मा २९० किमी मात्र रहेको यस सडकको काम छिट्टै सुरु हुने सांसद आलेले बताउनु भयो । खुटियादेखि वीपीनगरसम्म सुरुङमार्ग बन्ने पक्का भएको बताउँदै उहाँले यो सुपकै पहिलो सुरुङमार्ग हुने दावी गर्नु भयो ।
आँटिलो र विकासप्रेमी नेताका रुपमा परिचित सांसद आलेले नेपाल सबै जातजातीको साझा फुलबारी भएकोले आफु सदैव जातीय राज्यको विरुद्धमा रहेको प्रस्ट पार्नु भयो । आफू अखण्ड सुदूरपश्चिमको पक्षमा निडर भएर लागेको कारणले नै यसलाई टुक्राउन चाहनेको मनसाय पूरा नभएको बताउँदै जनताको साथ सहयोगले नै आफूले यसको नेतृत्व गरेको दावी गर्नु भयो । ‘विगतमा धनगढीमा ३२ दिनसम्म अखण्ड सुदूरपश्चिम आन्दोलन यहाँका जनताको साथ र समर्थनबाट मात्रै सम्भव भएको हो ’ आलेले भन्नु भयो । ७५० मेगाबाटको पश्चिम सेती जलविद्युत आयोजना छिट्टै काम सुरु गर्न आफू अहोरात्र खटिरहेको उहाँले उल्लेख गर्नु भयो । नेकपाको सरकार कुरामा भन्दा कामको परिणाममा विश्वास गर्ने भएकाले हाल देशमा कानुनी राज र सुशासन कायम भएको दावी गर्नु भयो । गल्ती गरेर पद र शक्तिको आडमा उम्किने परिपाटी अन्त्य भएको ठोकुवा गर्नु भयो । उहाँले देशमा काम गरेरै देखाउने प्रण गरेको यो सरकारले गल्ती गर्ने कसैलाई नछोड्ने बताउनु भयो ।


उक्त प्रतियोगितामा नेप्लिज एकेडेमी मसुरिया कैलालीकी छात्रा करुणा सिंह प्रथम भइन् भने ज्ञानज्योति इंलिस बोर्डिङ स्कुल पहलमानपुर कैलालीकै छात्र आदित्य बगाले द्धितीय हुन सफल भए । टिके बोर्डिङ स्कुलकी छात्रा प्राप्ति भट्ट तेस्रो भइन् । प्रथम हुनले रु ३ लाख, द्धितीय र तृतीय हुनेले क्रमशः १ लाख पचास हजार र पचास हजार नगद पुरस्कार प्राप्त गरेका थिए । डान्स प्रतियोगिताको निर्णायकको भूमिकामा नायिका आँचल शर्मा रहेकी थिइन् भने अहिलेका चर्चित गायक प्रकाश सपुतले प्रस्तुती दिएका थिए भने प्रकाश छेडालले प्रतियोगिता संचालन गरेका थिए ।