खाना पकाउने ग्याँसको भाउ २५ रुपैयाँ बढयो

१८ पुष २०७४, मंगलवार ०४:४९

पुस १८, काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एल्पी ग्याँसको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ वृद्धि गरेको छ ।

निगमले सोमबार ग्यासहित सबै खाले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले राती १२ बजेदेखि लागू हुने गरी मूल्य बढाउने निर्णय गरेको हो । निगम प्रवक्ता वीरेन्द्र गोइतका अनुसार डिजेल, पेट्रोल र मटितेलको मूल्य प्रतिलिटर एक÷एक रुपैयाँ बढेको छ । उनका अनुसार हवाई इन्धनमध्ये आन्तरिकमा प्रतिलिटरमा तीन रुपैयाँ र बाह्यमा प्रतिकिलोलिटरमा ५० डलर मूल्य बढेको छ ।

इन्डियन आयल कर्पोरेशन (आईओसी) ले सोमबार पठाएको नयाँ मूल्यअनुसार सबै पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले जानकारी दिएको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय २ रुपैयाँ पुगेको छ भने डिजेल÷मटीतेल प्रतिलिटर ७९ रुपैयाँ पुगेको छ । एल्पी ग्याँस प्रतिसिन्डिर १ हजार ३ सय ७५ रुपैयाँ पुगेको छ । यस्तै हवाई इन्धन आन्तरिक दप्रतिलिटर ९० रुपैयाँ पुगेको छ । मूल्य समायोजनपछि पनि निगमलाई अझै मासिक २६ करोड ४० लाख रुपैयाँ घाटा छ । पछिल्लो समय अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दै गएको छ । आइओसीले प्रत्येक महिना १ र १६ तारिकमा मूल्य पठाउने गर्छ । –आर्थिक कारोबार