“खाजा घर” की “कोठी” ?, होटल सञ्चालक हेमन्त र सानुसहित दुई जना महिला नियन्त्रणमा

१४ चैत्र २०७४, बुधबार ०८:२२

चैत १४, काठमाडौं ।

काठमाडौंको टोखा–६, गोंगबुमा न्यू पाल्पाली रानीमहल खाजा घरको नाममा यौनधन्दा हुने गरेको खुलेको छ ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले खाजा घरबाट होटल सञ्चालक हेमन्त गैरे र सानु राईसहित दुई जना महिलालाई नियन्त्रण लिएसँगै खाजा घरको नाममा ‘कोठी’ सञ्चालन हुने गरेको खुलेको हो ।

काठमाडौं प्रहरी परिसरका अनुसार होटलमा वेटर तथा सरसफाई गर्ने भनेर महिलालाई सुरुमा काममा लगाउने र इच्छा विना अपरिचित व्यक्तिहरुलाई बोलाएर पटकपटक जबरजस्तीकरणी गराउने अनुसन्धानबाट खुलेको छ ।

‘अपरिचित पुरुषहरुसँग बस्न र जान नमानेमा कुटपिट गरेर होटलमै बन्धक बनाएर राख्ने गरेको पनि युवतीहरुले बयान दिएका छन्’, परिसरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एक दिनमा ५/६ जनासँग यौन धन्दामा लगाएर युवतीहरुलाई रकम समेत नदिने गरेको देखिएको छ ।’

पक्राउ परेकाहरुलाई मानव बेचविखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।