‘क’ श्रेणीको कैदीको लागि बनाइयो अस्पतालमै जेल

१५ श्रावण २०७५, मंगलवार १६:२१

साउन १५, काठमाडौं । एजेन्सी

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफलाई भर्ना गरिएको अस्पतालको वार्डलाई कारागार घोषणा गरिएको छ ।

भ्रष्टाचार आरोपमा कारावास सजाय भोगिरहेका शरीफको स्वास्थ्य कमजोर भएपछि पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा भर्ना गरिएको थियो ।

रावलपिण्डीको जेलमा थुनिएका शरीफलाई मुटुसम्बन्धी समस्या आएपछि इस्लामाबादस्थित शीर्ष अस्पतालको कार्डियाक सेन्टरमा भर्ना गरिएको थियो ।

अस्पताल अधिकारीहरूले उनीहरूको हालत स्थिर रहेको बताएका छन् ।

पाकिस्तानमा भएको आमनिर्वाचनपछि सबभन्दा ठूलो दलका रूपमा उदाएको पाकिस्तान तहरीक–ए–इन्साफका अध्यक्ष इमरान खानले शरीफको स्वास्थ्यलाभको कामना गरेका छन् ।

पीआईएमएस कार्डियोलोजी विभागका प्रमुख डा. नईम मलिकले अधिकारीहरूलाई शरीफ अस्पताल भर्ना गर्ने सुझाव दिएका थिए ।