क्रिस गेलको रेकर्ड तोड्यो, २० बलमा १०२ रन

११ चैत्र २०७४, आईतवार १०:३०

चैत ११, काठमाडौं ।

आईपीएलको पूर्वसन्ध्यामा एक भारतीय क्रिकेटरले २० बलमा शतक प्रहार गर्दै हलचल मचाएका छन् । टिम इन्डियाका विकेटकिपर ऋद्धिमान साहाले २० बलमा शतक हानेका हुन् ।

शनिबार कोलकाताको कालीघाटमा जेसी मुखर्जी टुर्नामेन्टमा मोहन बगान र बीएनआर रिक्रिएशन क्लबबीच प्रतिस्पर्धा थियो । साहा मोहन बगानको टिमबाट खेलेका थिए ।
विश्वास गर्न गाह्रो होला, ऋद्धिमानले केबल २० बल सामना गर्दै १०२ रन जोडे र सहज जित दिलाए ।


ऋद्धिमान साहले चार चौका र १४ छक्का प्रहार गरेका थिए । उनको स्ट्राइक रेट ५१० थियो ।

यसको साथै साहा टी-२० क्रिकेटमा सबैभन्दा तेज शतक बनाउने व्याट्सम्यान बनेका छन् । यसअघि यो रेकर्ड क्रिस गेलको नाममा थियो ।

क्रिस गेलले आईपीएल २०१३ मा पुणे वारियर्सविरुद्ध ३० बलमा शतक पूरा गरेका थिए ।

आईपीएल क्रिकेट सुरु हुनुअघि ऋद्धिमानको यो सनसनीपूर्ण प्रदर्शनले हलचल मचाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

ऋद्धिमान साहा आईपीएल क्रिकेटमा सनराइजर्स हैदरावादमा आवद्ध छन् । सनराइजर्सले उनलाई ५ करोड भारुमा अनुबन्ध गरेको छ । ३३ वर्षीय ऋद्धिमान हालै दक्षिण अफ्रिकासँग भएको वान डे म्याचमा टिम इन्डियाको एक सदस्य थिए ।

सनराइजर्स हैदरावादसाग ऋद्धिमान साहाका अलावा डेभिड वार्नर, शिखर धवन जस्ता खेलाडीहरु पनि छन् । यसैगरी टिम अफगानिस्तानका स्पीनर राशिद खान पनि सनराइजर्स हैदरावादमा छन् ।