कोरोना संक्रमणको उच्च जोखिममा भारतीय नाका

७ चैत्र २०७६, शुक्रबार ०८:३२

काठमाडौं, गृह मन्त्रालयले भारतीय सीमा क्षेत्रबाट कोरोना भाइरसको संक्रमण भित्रन सक्ने जोखिम रहेको निष्कर्ष निकाल्दै थप सतर्कता अपनाउने निर्णय गरेको छ ।

कोरोना भाइरस देशभित्र भित्रन नदिन अधिकतम स्रोत र साधन परिचालन गर्नेसहित मन्त्रालयले खुला सीमा नाकाबाट कोरोना भाइरस संक्रमितलाई नेपाल भित्रन नदिन थप प्रभावकारी कदम चाल्ने निर्णय गरेको हो ।

कोरोनाको वस्तुस्थिति, पूर्वतयारी र प्रतिकार्य योजना सम्बन्धमा छलफल गर्न बिहीबार गृह मन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले खुला सिमानाका कारण भारतबाट कोरोनाको संक्रमणको जोखिम उच्च रहेको, उत्तरतर्फका नाकाभन्दा दक्षिणका नाकाबाट जोखिम बढेको र भारतमा तीव्र गतिमा फैलिरहेको कोरोनाको प्रभाव नेपालमा पर्न सक्नेतर्फ सचेत रहन सीमा नाकामा हुने चेकजाँचलाई थप कडाइ गर्नुपर्ने निष्कर्ष निकालेको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले चेकजाँचमा कडाइ गरी नेपालभित्र प्रवेश गर्नै नदिने योजनाका साथ अगाडि बढ्ने निर्णय भएको बताए । बैठकले अफवाह फैलाउने र अनर्गल प्रचार गरेमा १ लाख जरिवाना र ६ महिना कैद हुने व्यवस्था गरेको छ।

धेरै सेवाग्राही जमघट हुने सरकारी कार्यालयहरू सेवा प्रवाहमा भिडभाड कम गर्ने विषयमा बैठकमा छलफल भएको बताउँदै कार्यकारी प्रमुख पोखरेलले भने, ‘मालपोत, विद्युत् प्राधिकरणलगायतका कार्यालयमा सेवाग्राहीको भिड कम गर्न प्रविधिको प्रयोगमा जोड दिनुपर्ने र राजस्व बुझाउने कार्यालयहरूसँग समन्वय गरी यो महिना नतिर्दा लाग्ने जरिवाना मिनाहा गर्ने वातावरण मिलाउने विषयमा छलफल भएको छ, सरोकारवाला निकायसँग छलफल गरेर निर्णय हुन्छ।’

कोरोना नेपाल भित्रिन नदिन सरकारले यसअघि नै सीमा नाकामा कडाइ गरेको छ। सरकारले दक्षिणतर्फ मुख्य १४ नाकामध्ये ४ वटा मात्रै सञ्चालनमा ल्याएको छ।