कोरोनालाई लक्षित गरी कांग्रेसले बनायो विशेष समिति, पूर्वमन्त्री खड्का पनि सदस्य

३ जेष्ठ २०७७, शनिबार १५:५५


काठमाडौं , नेपाली कांग्रेसले कोरोना भाइरसले पारेको प्रभाव र यसबाट पुगेको आर्थिक क्षतिबारे मूल्यांकन गर्न लगानी पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना विशेष समिति गठन गरेको छ ।
गत बैशाख १७ गते बसेको पार्टीको केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभाका सांसद तथा उद्यमी विनोद चौधरीको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरेको छ । समितिका सदस्य खानेपानी तथा सरसफाई पूर्वराज्मन्त्री दीपक खड्काले कोरोनाको प्रकोपका कारण उद्योग व्यवसायसँगै समग्र अर्थतन्त्रमा पारेको प्रभावको मूल्यांकन गर्दै आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा अध्ययन गरिने बताउनु भयो । उहाँका अनुसार समितिले तयार पारेको प्रतिवेदन पार्टीमा बुझाइने छ र पार्टीले सोही अनुसारका कार्यक्रम ल्याउने छ ।

पूर्व राज्यमन्त्री तथा यसअघिको संविधानसभाको निर्वाचनमा संखुवासभाबाट निर्वाचित सांसद खड्काले कोरोनाको कारण नेपालको अर्थतन्त्र संकटमा परेकाले आगामी दिनमा आउने चुनौती विश्लेषण गरी त्यसबाट कसरी मुक्ति दिलाउन सकिन्छ भन्ने किसिमका कार्यक्रम ल्याउन सुझाव दिने बताउनु भयो । समितिले तत्कालीन र दीर्घकालीन समस्याको समाधानका लागि पहल गर्ने छ ।
समितिमा बागमति प्रदेशका नेपाली कांग्रेसका संसदीय दलका नेता तथा पूर्वमन्त्री ईन्द्र बानिया, प्रतिनिधिसभाका सांसदहरु उमेश श्रेष्ठ, सूर्यबहादुर केसी, मोहन आचार्यका साथै उद्यम र व्यवसायका क्षेत्रमा लागेका पार्टीका विभिन्न तहमा बसेर काम गर्दै गरेका व्यक्तिहरु सदस्य रहेका छन् । समितिमा जम्मा २१ जना रहने छन्, बाँकी सदस्य पछि चयन गरिने पार्टीले जनाएको छ ।