कोरिया जाने कामदारको हवाइ भाडा १३ हजारले घट्यो, वार्षिक १० करोड रुपैयाँ बचत हुने

२१ श्रावण २०७५, सोमबार १६:०६

साउन २१, काठमाडौं ।

रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारहरको हवाई टिकट २३ प्रतिशत अर्थात १२ हजार ९ सय ८० रुपैयाँका दरले घटेको छ ।

आइतबारदेखि हवाई भाडा निर्धारणको बोलपत्र स्वीकृत भएपछि कोरिया जाने कामदारको हवाइ भाडा घटेको वैदेशिक रोजगार विभागको इपीएस शाखाले जनाएको छ ।

नेपालबाट कोरिया जानका लागि प्रत्येक नेपाली कामदारले हवाइ भाडा वापत ५ सय ३० अमेरिकन डरलर तिर्दै आएका थिए । अब भने कामदारले ४ सय ११ अमेरिक डलर अर्थात ४५ हजार २ सय ९२ रुपैयाँ मात्रै हवाई भाडा तिर्नु पर्नेछ ।

सन् २००८ देखि ईपीएस प्रणाली लागू भएपछि नेपाली कामदारले ५ सय ४१ अमेरिकी डलर भाडा वापत सम्बन्धीत ट्राभल एजेन्सीलाई बुझाउने गरेका थिए । २०७३ पुसदेखि भने कामदारले ५ सय २९ दशमलव ७५ डलर अर्थात ५८ हजार २ सय ७२ रुपैयाँ हवाई भाडा बुझाउँदै आएका थिए ।

उक्त प्रणालीबाट करिब ८ हजारको संख्यामा कोरिया रोजगारीका लागि नेपाली कामदार जाने गरेका छन् । हवाई भाडा घटेसँगै कामदारको वार्षिक १० करोड रुपैयाँ बचत हुने देखिएको छ ।