कोरियन भाषा परीक्षा जेठ २६ र २७ मा, नतिजा असार १६ गते यो वर्ष पोखरामा पनि परीक्षा केन्द्र

२४ फाल्गुन २०७४, बिहीबार ०६:२३

काठमाडौं । दक्षिण कोरियामा रोजगारीका लागि जान लिइने ईपीएस परीक्षा आगामी जेठ २६ र २७ गते काठमाडौं र पोखरामा हुने भएको छ । भाषा परीक्षाको लागि फर्म भर्न चैत ८ देखि १७ गतेसम्म १० दिनको समय राखिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

मानव संशाधन विकास कार्यालय (एचआरडी) कोरियाका अनुसार परीक्षाको नतिजा आगामी असार १६ गते प्रकाशित हुनेछ । परीक्षा हुने स्थल, केन्द्र, दिन तथा आफ्नो सिफ्टसम्बन्धी विस्तृत जानकारी जेठ १८ गते प्रकाशन गरिने ईपीएस शाखाले बताएको छ ।

गत वर्षदेखि अनलाइन आवेदन प्रणाली सुरु गरेको एचआरडी कोरियाले फर्म भर्न लाइनमा बस्नु नपर्ने जनाएको छ । देशैभरका जुनसुकै ग्लोबल आईएमई बैंकमा २४ अमेरिकी डलर (करिब २४ सय रुपैयाँ) जम्मा गरी १० दिनभित्रमा आवेदन फर्म भर्न सकिने ईपीएस नेपाल शाखाका अधिकृत शोभाकर भण्डारीले बताए ।

उनका अनुसार यो वर्ष ‘फस्ट कम फस्ट सर्भिस’का आधारमा १२ हजार जनालाई पोखरामा पनि परीक्षा दिने व्यवस्था मिलाइने छ । गत वर्ष भने परीक्षा केन्द्र काठमाडौंमात्र निर्धारण गरिएको थियो । २०३४ साल चैत १० गतेदेखि २०५६ चैत ९ गतेभित्र जन्म भएकाले फर्म भर्न सक्नेछन् ।

कोरियाले आगामी वर्षका लागि ७ हजार १ सय जना कामदारलाई परीक्षाबाट छनोट गर्ने भएको छ । त्यसमध्ये उत्पादनमूलक क्षेत्रतर्फ ४ हजार ८ सय जना र कृषि तथा पशुपालन क्षेत्रतर्फ २ हजार ३ सय जनालाई उत्तीर्ण गराउने भएको छ ।