के संघीयता धरापमा परेकै हो त ?

२५ पुष २०७७, शनिबार १६:१०

डा डीआर उपाध्याय,

अहिले हाम्रो देशमा संसद् मूर्च्छित अवस्थामा छ । संसद ब्युतिन्छ की ब्युतिदैन त्यो त यसै भन्न सकिदैन । यतिबेला संघीयता समेत धरापमा परेको छ । । संघीय स्वरूपको जननी भनेर चिनिने मुलुक स्विट्जरल्यान्ड हो।

हाम्रा नेताहरूले मुलुकलाई स्विट्जरल्यान्ड बनाउने सपना विगत देखि धेरै बाँडे। यो सवै आश्वासन मात्रै भयो । विश्वमा स्विट्जरल्यान्ड, भारत, मलेसिया, मेक्सिको, पाकिस्तान, रूस, क्यानडा, अमेरिका, सुडान, बेल्जियम, अस्ट्रेलिया र अर्जेन्टिनाजस्ता राष्ट्रमा यसको प्रयोग भएको छ। भारतमा १० करोड जनसंख्या भएको ठाउँमा एक प्रदेश छ तर नेपालमा तीन करोड जनसंख्या नपुग्दैै सात प्रदेशमा बिभाजन गरिएको छ । संघीयता मंहगो भयो । यो देशले धान्न नसक्ने अवस्था देखियो ।
खर्चको त कुरै भएन। विश्वमा २८ वटा मुलुकमा मात्र संघीगता छ । कतिपय मुलुक संघीय प्रणालीमा गएर अनेकौं चुनौती र विद्यमान समस्याका कारण एकात्मक स्वरूपमा फर्केका उदाहरण पनि छन । पछिल्लो समय देशलाई स्वर्ग बनाउने गरी आएको र सत्रौं हजारको बलिदानीमा रुमल्लिएको संघीयता पहिलेदेखि नै धरापमा थियो। संघीयताको असली रूप उदांगिदै गएको छ। संसद् भंग हुँदासमेत कसैले अत्तोपत्तो नपाउने कस्तो लोकतन्त्र हो यो रु देश हाँक्नेहरु बिभाजित छन । उनिहरुको मन चिराचिरा परेको छ। यसै पनि पहिलेको एकता कृत्रिम र नाटकीय थियो। अप्राकृतिक थियो।
देशको आर्थिक विषम परिवेश, व्याापार घाटा, तिर्नै नसकिने गरी भएको विदेशी ऋण, जनतालाई थोपरिएको महँगी र करको भारले धान्नै नसकिने संघीयता नेपालीलाई घाँडो भएको छ । राजनीतिक दल र तिनका नेताहरुको सिद्धान्त र व्यवहारमा आकाश–जमिनको फरक भयो।उनीहरुले भन्ने एकथरी गर्ने अर्कोथरि त्यसैले राजनीतिलाई बदनाम बनाएका छन् । कुनै नेताको बोलीमा स्थिरता छैन, देश सही गतिमा अगाडि बढ्न सकेको छैन,जताततै चीत्कार, बेचैनी र बेरोजगार छ।
हाम्रो देशमा राम्रा मान्छेको सट्टा हाम्रा मान्छेको चयन छ। सबैतिर राजनीतिक भागबन्डा छ। स्थानिय तहदेखि केन्द्र सम्म नेता तथा कार्यकर्तालाई राजनीतिक रोजगार छ। सबैलाई नेता नै बन्नुपर्ने चटारो छ । यहाँ देशको चिन्ता कुनै पनि नेतालाई छैन । विगत देखि अहिले सम्म जनताले सबै कुरा भोग्दै र देख्दै आएका छन् । नेताहरुले झुटो आश्वासन बाहेक अरु केही बाड्न सकेका छैनन् । झुटको राजनीतिले मुलुक अहिले संकटको डिलमा छ । कतिखेर के हुन्छ कुनै ठेगान छैन ।