केन्द्रले प्रदेशको राजधानी तोक्ने होइनः शेरबहादुर तामाङ

१५ पुष २०७६, मंगलवार १४:५९

काठमाडौं , प्रदेश ३ को राजधानी र नाम राख्‍ने विषयमा केन्द्रले हस्क्षेप गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा तीव्र असन्तुष्टि देखिएको छ। नेकपा नेताहरु केन्द्रको यो निर्णयलाई लिएर खुलेरै विरोधमा उत्रिएका छन्। पछिल्लो पटक सिन्धुपाल्चोकबाट निर्वाचित प्रतिनिध सभाका सांसद तथा पूर्व कानुन मन्त्री शेरबहादुर तामाङले केन्द्रले हस्तक्षेप गरेर प्रदेशको राजधानी तोक्न नहुने बताउनु भएको हो ।

प्रदेश ३ को राजधानी कार्यदलले दिएको सुझाव अनुसार कायम हुनुपर्ने अडान उहाँले राखनु भएको छ । मंगलबार सामाजिक सञ्जालमा आफ्ना भनाइ राख्दै उहाँले २०६८ सालमै तत्कालीन नेकपा एमाले बागमती अञ्चल कमिटीले राज्यपुनर्संरचना अध्ययन कार्यदल बनाई राज्यपुनर्संरचनाबारे धारणा बनाइसकेको जिकिर गर्नु भएको छ । प्रदेश नं ३ को केन्द्र र नामाकरणको विषयमा अहिले पार्टी पंक्ति र आम जनताको चासो र चर्चाको विषय भएको छु, उहाँले भन्नु भयो , यो बिषयमा तत्कालीन एमाले बागमती अञ्चल कमिटीको तर्फबाट मेरो संयोजकत्वमा २०६८ सालमा राज्यपुनसंरचना अध्ययन कार्यदल बनाई राज्यको पुनसंरचना सम्बन्धमा दृष्टिकोण बनाइएको थियो। उहाँले उक्त कार्यदलले ७ वटा प्रदेशको भूगोल, नाम, केन्द्र र नक्सासमेत तयार पारिएको जानकारी दिनु भएको छ ।

२०६८ माघ ११ गते पार्टी केन्द्रलाई त्यो प्रस्ताव छलफलको लागि पेस गरिएको उहाँले स्मरण गर्नु भयो । तामाङका अनुसार पार्टीको २०६९ असार, श्रावणमा सम्पन्‍न राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा त्यस बिषयमा छलफल पनि भएको थियो। त्यही प्रतिवेदनका आधारमा त्यसपछि बसेको एमाले केन्द्रिय कमिटीको बैठकले ७ प्रदेशको अवधारणालाई स्वीकार गर्दै हामीले प्रस्ताव गरेको नाममा केही फेरबदल गर्‍यो, उहाँले भन्नु भएको छ । , म अरु प्रदेशबारेमा जान चहान्‍नँ। प्रदेश ३ कोबारेमा भने मैले केही भन्‍नै पर्ने हुन्छ। आफ्नो कार्यदलले सिफारिस गरे अनुसार नै प्रदेश ३ को भूगोल स्वीकार गरिएको उहाँले बताउनु भएको छ । अहिले भनिएको प्रदेश ३ को नाम बागमती, नेवा, तामसालिङ हामीले प्रस्ताव गरेकोमा पार्टीले तामसालिङ नेवा बागमती भनेर निर्णय गर्‍यो, उहाँले भन्नु भयो , भूगोल जस्ताकोतस्तै स्वीकार गरियो। नेता तामाङले केन्द्रको विषयमा फरक मत राखनु भएको छ । हामीले काभ्रेको बनेपा, धुलिखेल र पनौती मिलाएर महानगर बनाई त्यसैलाई प्रदेशको केन्द्र बनाउने प्रस्ताव गरेका थियौँ, उहाँले भन्नु भयो , पार्टीले केन्द्रबारेमा नबोलेकोले हाम्रो प्रस्ताव स्वीकार गरेको बुझ्यौं।नेता तामाङले संविधानसभाले २०७२ मा संविधान बनाउँदा आफूहरुकै प्रस्ताव अनुसार एमालेले तयार गरेको ७ प्रदेशको खाकालाई पारित गरेको स्मरण गर्नु भयो ।