कृषि विकास बैंकका शाखा प्रवन्धकसहित थप ३ जना पक्राउ

२६ मंसिर २०७४, मंगलवार ०२:४१

मंसिर २६, काठमाडौं । कृषि विकास बैंक मुख्य शाखा कार्यालय न्यूरोडको करिव ५ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा थप ३ जना कर्मचारी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धन व्यूरोले शाखा प्रवन्धकसहित थप ३ जनालाई सोमबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कामु मुख्य शाखा प्रवन्धक प्रेमहरी ढुंगेल, बैंककै इलेक्ट्रोनिक चेक क्लियरिङ विभागका प्रमुख गोपाल गिरी र कर्जा प्रमुख महेश्वर महठठ पक्राउ परेका हुन् ।

बैंकको रकम हिनामिनामा यसअघि काठमाडौंको नागार्जुन नगरपालिका–१ सितापाइला बस्ने बैंककी टेलर ३२ वर्षिय पिपिका रेग्मी, काठमाडौं महानगरपालिका –१६ बालाजु बस्ने तेह्रथुमका ४२ वर्षीय प्रकाश घतानी र काठमाडौं महानगरपालिका ३२ बस्ने दालेखाका रमेशकुमार थापा पक्राउ परेका छन् । खातामा डिपोजिट गर्न आएका सेवाग्राहीको रकम हिनामिना अभियोगमा पक्राउ परेका रेग्मी सहितका आरेपितको बयानका आधारमा थप ३ जना पक्राउ परेको व्यूरोले जनाएको छ । अन्तर शाखा कारोबार हिसाब क्लियरिङका क्रममा ४ करोड ९१ लाख भन्दा बढी रकम हिनामिना भएपछि कृषि विकास बैंक मुख्य कार्यालयले नेपाल राष्ट्र बैंकमार्फत अनुसन्धानका लागि व्यूरोसमक्ष निवेदन दिएको थियो । आरोपितविरुद्ध हिरासतमा राखेर अनुसन्धन गर्न उच्च अदालत पाटनले अनुमति दिएको व्यूरोले जनाएको छ ।

 

व्यूरोका अनुसार विभिन्न व्यक्ति तथा संस्थाले चेक मार्फत बैंकमा जम्मा गर्न ल्याएको रकम इलेक्ट्रोनिक चेक क्लियरेन्स मार्फत सम्बन्धित व्यक्तिका नाममा जम्मा गरेपछि पुनः त्यही चेकमार्फतकोर बैंकिङ सिस्टमबाट रकम रेग्मी सहित अन्य आफन्तको खातामा पठाएको पाइएको छ । उक्त रकम नेपाली सेनाका एक उपरथीको नाममा समेत गएको पाइएपछि व्यूरोले अनुसन्धन गरिरहेको जनाएको छ । –कारोबार दैनिक