कुवेतमाथि सानदार जित, नेपाल विश्वकपको ग्लोबल छनोट नजिक

११ श्रावण २०७६, शनिबार १४:५६

काठमाडौं , सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको खेलमा नेपालले कुवेतमाथि सानदार जित हात पारेको छ। शनिबार बिहान भएको खेलमा नेपालले कुवेतमाथि ७ विकेटको जित निकालेको हो । कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले १५।५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । यस जितसँगै नेपाल टीट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायर नजिक पुगेको छ।

नेपालको जितका लागि कप्तान पारस खड्काले उत्कृष्ट इनिङ खेले । खडकाले १ छक्का र ११ चौकासहित ४२ बलमा ६८ रन बनाए । त्यसैगरी शरद भेषवाकरले ३८ रन र ज्ञानेन्द्र मल्लले १९ रनको योगदान गरे । रोहितकुमार पौडेलले ६ रन जोडे भने दीपेन्द्रसिंह ऐरी १ रन बनाएर आउट भए ।

कुवेतका लागि मोहमद काषिफले मात्रै नेपालको ३ विकेट लिए ।

नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो । कुवेतका लागि कप्तान मोहमद काषिफले सर्वाधिक ४९ रन बनाए । त्यसैगरी आदनन् इन्द्रेसले २५ र मोहमद अस्लामले २३ रन बनाए। ९औं विकेट गुमेपछि कुवेतले १० बलमा २९ रन जोड्न सफल भएको थियो । कप्तान काषिफले ३६ बलमा ४ छक्का र २ चौका गरी ४९ रन बनाएका थिए।

नेपालका लागि सन्दीप लामिछाने र वसन्त रेग्मीले ३–३ विकेट लिए । करण केसीले २, अभिनाश बोहरा र सोमपाल कामीले १–१ विकेट लिए ।

जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । नेपाललाई टीट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुनका लागि आइतबार हुने खेलमा सिंगापुरमाथि जित हात पार्नुपर्ने छ । पहिलो खेलमा कतारसँग ४ किवेटले पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियालाई ७ विकेट हराएको थियो ।