कुनै पनि हालतमा राजतन्त्र फर्किंदैनः देउवा

२९ भाद्र २०७६, आईतवार १०:४०

दाङ , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा राजा फर्कने हल्लाको पछि नलाग्न आग्रह गर्नु भएको छ । राजसस्था फर्किने हल्ला फैलिरहेको भन्दै उहाँले त्यसका पछि नलाग्न नेता कार्यकर्तालाई निर्देशन दिनु भएको हो ।

उहाँले प्रेस युनियनले दाङको तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रतिगामीहरूले राजतन्त्र फर्कने हल्ला चलाएको बताउनु भयो । अब राजतन्त्र फर्कन सम्भव नभएको र यसको पछि नलाग्न उहाँले सबैलाई अनुरोध पनि गर्नु भयो । उहाँले भन्नु भयो, ‘कुनै पनि हालतमा राजतन्त्र फर्किंदैन’, ‘यो हल्ला मात्रै हो ।’

सभापति देउवाले एनसेल र वाइडबडीमा आफ्नो नाम जोडिएको प्रति आपत्ति समेत जनाउनु भयो । उहाँले एनसेलको त आफूले नाम पनि नसुनेको जिकिर गर्नु भयो ।

पत्रकार भेटघाटमा सभापति देउवाले सत्ता पक्षका नेताहरूले बिरोधीका आवाज जर्बजस्ती दवाउन खोजिरहेको आरोप लगाउनु भयो । सत्तापक्षका नेताहरूले कांग्रेस नेताहरूमाथि आक्रमण गरिरहेको बताउँदै देउवाले दोषीमाथि कारबाही नभए संसद् ठप्प पार्ने चेतावनी समेत दिनु भयो । उहाँले कांग्रेसबीच एकता नहुँदा पनि आक्रमण भइरहेको बताउनु भयो । बाहिरी आक्रमणबाट बच्न पार्टीभित्र एकता जरुरी रहेको देउवाको भनाइ छ ।