किसानले सडकमै दूध पोखेर गरे विरोध

३ असार २०७५, आईतवार ०६:४४

असार ३, काठमाडौं ।

उत्पादन गरेको दूध बिक्री नभएपछि दक्षिणी झापाको दक्षिणी क्षेत्रका किसानले सडकमै दूध पोखेका छन् ।

झापा गाउँपालिका–६, शरणामतीका किसानले सडकमा दूध पोखेर विरोध जनाएका हुन् ।

कृषकहरुलाई विगत ४ वर्षदेखि नेपाल बहुउद्देश्यीय सहकारी लिमिटेड, मेचीनगरबाट सञ्चालित एमएनसी डेरीले ऋण दिएर गाइपालन गर्न लगाए पनि हाल दूध खरिद गर्न छाडेपछि उनीहरु विरोधमा उत्रिनु परेको स्थानीयवासीले बताएका छन् ।

एनएमसी डेरीको शरणामती चिस्यान केन्द्रमा मात्रै दैनिक ३ सय कृषकले ३५ सय लिटरसम्म दूध विक्री गर्दै आएका थिए । तर, एक महिनादेखि कहिले हप्ताको एक दिन त कहिले हप्ताको दुई दिन चिस्यान केन्द्रले दूध होलिडे गर्दै आएको छ ।

पछिल्लो समय डेरीको दूध चिस्यान केन्द्रको भाडो बिग्रिएर ४ दिनदेखि दूध लिन गाडी नआएपछि कृषकहरु थप मारमा परेका छन् ।

कृषकहरुले आफूहरुले दैनिक उत्पादन गरेको दूध गाउँमा समेत सित्तैमा बाड्नु परेको भन्दै उनीहरुले एमएनसीको भ्याट केन्द्र अगाडि सडकमा दूध पोखेर विरोध व्यक्त गरेको स्थानीय कृषक चन्द्रबहादुर कार्कीले बताए ।

‘पहिले हामीलाई अनेकथरि सपना बाँडेर एक लाख २० हजार रुपैयाँसम्मको लागतमा विकसित गाई खरिद गर्न लगाउनु भयो’, उनले भने, ‘हाल दूध खरिद नगरिदिँदा पहिले लिएको ऋणको साँवा ब्याज समेत तिर्न सकिएको छैन ।’

‘पहिले कृषकलाई टाइसुट लगाएर हिँड्ने बनाउँछौ भन्दै गाउँ छिरेका थिए, अहिले रुँदै हिँड्ने बनाए’, उनले भने ।