किन पोखरा महानगरपालिका घर घरमै गएर घर पालुवा चौपायालाई ट्यागिङ गर्ने तयारीमा ?

२३ फाल्गुन २०७४, बुधबार १०:१५

फागुन २३, काठमाडौं ।

जथाभावी रुपमा छोडिएका छाडा चौपाया नियन्त्रण गर्न पोखरा महानगरपालिकाले घर घरमै गएर घर पालुवा चौपायालाई ट्यागिङ गरी अभिलेख संकलन तयारी थालेको छ ।

महानगरले त्यस क्रममा घर पालुवा पशुहरुलाई नियमित ट्यागिङ गरी प्रमाणीकरणसहित सम्बन्धित पशुको धनीलाई स्वामित्वको कार्ड प्रदान गर्न लागेको छ ।

महानगरका मेयर मानबहादुर जिसीले छाडा चौपाया विकाराल समस्याको रुपमा रहेकोले त्यसलाई हल गर्न वडा नम्बर १७ बाट नमुना परियोजनाको रुपमा सो कार्यको थालनी गर्न लागेको जानकारी दिए ।

उनले घरपालुवा चौपायाको लगत लिने काम अन्य वडाहरुमा समेत क्रमशः विस्तार गर्ने बताए । ‘चौपायाको अभिलेख संकलनको क्रममा सम्बन्धित पशुधनीको नागरिकता, सम्पर्क नम्बर लिइने छ,’ उनले भने, ‘यस कार्यले सम्बन्धित पशुधनीलाई दायित्व बोध गराउने छ । उसले जथाभावी रुपमा चौपाया छोड्न रोक्ने छ ।’

महानगरका कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले छाडा रुपमा चौपाया छोड्नेलाई कारवाही गर्न कानुन नभएको बताए । उनले फोहोरमैला व्यवस्था ऐन अन्तर्गत १० हजार देखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने जानकारी दिए ।

पशुहरुको पनि बाँच्न पाउने अधिकार हुने उल्लेख गर्दै उनले जसको गोठमा जन्मेको हो उसैले व्यवस्थापन गर्न सके सडकसम्म आउने समस्याको निराकरण हुने बताए ।

महानगरको पशु सेवा शाखाको आर्थिक वर्ष २०७४–०७५ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत त्यस्तो काम गर्न लागिएको हो । पशु सेवा शाखाका प्रमुख पशु चिकित्सक ठगेन्द्रप्रसाद अर्यालले प्रत्येक घरमा पुगेर गाई, भैंसी, कुकुरलगायतको तथ्यांक लिने जानकारी दिए । लगत लिने क्रममा सम्बन्धित पशु धनीले बिक्री गरेको कृषक या व्यावसायिक फार्मको भर्पाइ समेत लिने जानकारी दिँदै उनले त्यसको आधारमा जसको पशु सडकमा आएको हो ट्याग नम्बरबाट यकिन गरी नियम अनुसार कारवाही गर्न सकिने वातावरण सिर्जना हुने दाबी गरे

सुरुको ट्यागिङ तथा अभिलेखीकरण कार्य फागुन २० देखि चैत १५ भित्रमा सम्पन्न गर्ने महानगरको योजना छ । त्यसको लागि पशु सेवा शाखा लगायत अन्य सेवा केन्द्रका प्राविधिक तथा एक वडा एक प्राविधिक खटाइने पशु चिकित्सक अर्यालले जनाए ।

उनले अभियानलाई सहयोग गर्न कृषक तथा व्यवसायिक फार्म, टोल विकास संस्था,आमा समुह, वडा कार्यलय, पशु सेवा केन्द्र, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च लगायत सबैमा अनुरोध गरे । उनले छाडा चौपायालाई प्राविधिक रिपार्टका आधारमा पालन गर्नेलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्ने जानकारी दिए ।

कार्यक्रमको निरन्तरता दिँदै आगामी आर्थिक वर्षमा अरु वडाहरुमा विस्तार गर्ने कार्यक्रम महानगरको रहेको छ । नयाँ थप गरिएका गाई र जन्मँदै गरेका बाच्छा बाच्छी हरेकको २/२ महिनामा अभिलेखीकरण गर्दै लगिने उनले उल्लेख गरे ।

अहिले महानगर क्षेत्रमा ६ देखि ७ सयसम्म बेवारिसे चौपाया छन् । छाडा चौपाया व्यवस्थापनको लागि महानगरले पोखरा महानगर २० भलामस्थित स्थानापति सहकारी मार्फत काम गरेको छ ।

पशु चिकित्सक अर्यालले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनको लागि दिर्घकालीन रुपमा सडकमा आउने छाडा चौपायालाई नियन्त्रण गर्न आवश्यक रहेको बताए । उनले घाइते पशुको उपचार र मृत पशुको व्यवस्थापन गर्न महानगरलाई कठिनाइ भएको उल्लेख गरे ।