कामका लागि चीन पुगेका डेढ सय नेपाली अलपत्र

२८ फाल्गुन २०७६, बुधबार १०:४७

फाइल फोटो

काठमाडौं , कामका लागि चीनको ताक्लाकोट पुगेका करिब डेढ सय जना नेपाली कोरोना संक्रमणको त्रासले घर फर्कन चाहे पनि नाका बन्द भएका कारण अलपत्र परेका छन्  ।

उनीहरूले उद्धारका लागि पहल गरिदिन जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएका छन् । कोरोना संक्रमणकै कारण दुवै देशको सहमतिमा हिल्सा नाका बन्द छ  ।

प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले ताक्लाकोटमा रहेको कैलाश ट्रेड सोसाइटीका नामबाट चिठी प्राप्त भएको बताइन्  । गृह मन्त्रालयसँग यसबारे मौखिक रूपमा आवश्यक निर्देशन माग गरे पनि जवाफ नआएकाले उद्धारको पहल हुन नसकेको उनले बताइन्  ।

चिठीमा नेपाल फर्कन चाहने १ सय ४८ जनाको नाम छ  । सोसाइटीका उपाध्यक्ष लामो लामाले पठाएको पत्रमा नाम्खा र सिमकोटका बासिन्दा थुक्तेन लामा, रोक्तान लामा, कार्मा तुन्डुप लामा, राजु लामा, पर्विता लामा, सम्ब श्रेष्ठ, जंगबहादुर शाही, गणेशबहादुर लामा, अणु लामा, छिरिङ म्याम्लो लामा, अनु लामा र संगीता बुढालगायत छन्  ।

हुम्लासँग सीमा जोडिएको ताक्लाकोटमा बर्सेनि जेठमा कामका लागि नेपाली जाने गर्छन्  । उनीहरू मंसिरमा फर्कने गरे पनि कतिपय अस्थायी रूपमा त्यतै बस्छन्  ।

तिनै अस्थायी बसोबास गर्ने कामदार अहिले फर्कन खोजेका हुन्  । उपाध्यक्ष लामाले जिल्ला प्रशासनमा चिठी पठाउनुका साथै उद्धारको पहल गरिदिन हुम्लाका सांसद छक्कबहादुर लामासँग पनि अनुरोध गरेकी छन्  । ‘उनले मलाई निरन्तर फोन गरिरहेकी छन्,’ सांसद लामाले भने, ‘मैले पनि सरकारी निकायमा कुरा राखें, तर पहल भएको छैन  ।’(आजको कान्तिपुरबाट)