काभ्रेका २१ मतदान केन्द्र अति संवेदनशील

८ मंसिर २०७४, शुक्रबार ०३:५३

मंसिर ८, काभ्रे । मंसिर २१ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा काभ्रेका २१ वटा मतदान केन्द्रलाई संवेदशील मतदान केन्द्रका रुपमा राखिएको छ ।

 

यसपटकको निर्वाचनमा जिल्लाको महाभारत र कोसीपारी क्षेत्रका २१ मतदान केन्द्रलाई अति संवेदनशील मतदान केन्द्रको रुपमा पहिचान गरिएको हो । महाभारत र कोसीपारीका अति संवेदशील मतदान केन्द्रमा जिल्ला प्रहरी कार्यालय काभ्रेले सिनियर अफिसरको नेतृत्वमा प्रहरी परिचालन गर्ने रणनीति बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सहकुलबहादुर थापाले जानकारी दिए । ‘अति संवेदनशील क्षेत्रलाई प्रहरीले विशेष प्राथमिकताका साथ सुरक्षा सतर्कता समेत बढाएको छ,’ उनले भने ।

यसैगरी प्रहरी काभ्रेका ६२ मतदान केन्द्रलाई संवेदशील मतदान केन्द्रको रुपमा राखेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले निर्वाचन मिति नजिकिएसँगै निर्वाचन विथोल्ने प्रयासमा संलग्न हुन सक्ने आशंकामा नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्लास्तरका नेतालाई धमाधाम पक्राउ गरिएको छ । मंगलबार चार र बुधवार दुईजना कार्यकर्ता पक्राउ गरिएको हो । पक्राउ पर्नेमा पनौतिबाट वीबहादुर वाईवा र पाँचखलबाट दलबहादुर मिजार रहेका छन् । –नयाँ पत्रिका