कानुनमन्त्री तामाङलाई राजीनामा दिन नेकपाको निर्देशन

८ श्रावण २०७५, मंगलवार १२:२२

साउन ८, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन निर्देशन दिएको छ । उनले आजै मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गर्ने स्रोतले जनाएको छ ।

मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।

नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उनले मैले सुनेको छु भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मित बेच्न बाध्य हुनु पर्ने गरेको दाबी गरेका थिए । यसको सर्वत्र आलोचना भएको छ । सत्तारुढ नेकपाकै नेताहरुले समेत आलोचना गरे ।

मन्त्री तामाङले विज्ञप्ति जारी गर्दै माफी मागे । तर, आफूले नेपाली विद्यार्थीहरुले भोग्नु परेको समस्यालाई उजागर गरेको भन्दै विवादास्पद अभिव्यक्तिको बचाउ गरे ।बालुवाटारमा राति अबेरसम्म भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका शीर्ष नेताहरुले मन्त्री तामाङलाई राजीनामा दिन सुझाएका छन् ।

मन्त्री तामाङले दिउँसो २ बजे कानुन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछन् । स्रोतका अनुसार उनले त्यहीबाट मन्त्री पदबाट राजीनामा दिएको घोषणा गर्ने तयारी छ ।