कानुनभन्दा माथि कोही छैन

८ भाद्र २०७६, आईतवार ०९:४१

बिष्णुप्रसाद शर्मा

संविधानले ‘पूर्ण प्रेस स्वतन्त्रता’ सुनिश्चित गरे पनि ब्यवहारमा त्यो देखिदैन । प्रेस माथि बारम्वार प्रहार भइरहेको छ । यो राम्रो संकेत पटक्कै होइन ।
सवै जनतालाई मान्य हुने संविधान हुनु पर्ने थियो । त्यसो भएन । सरकारले ल्याउने प्रत्येक विधेयक बिवाद मुक्त हुन सकेको छैन । हरेक बिधेयक विवादमा छन । विधेयक ल्याउँदा सरोकारवाला व्यक्ति र संस्थासँग छलफल पनि हुँदैन। यो कस्तो लोकतन्त्र हो ? जनता सडकमा उत्रिए पछि मात्र सरकारले सुन्ने गरेको छ। जनता सडकमा नआए सम्म यो बर्तमान सरकारले सुन्र्नेवाला छैन । सामान्य विरोध र आलोचनालाई सरकारले खासै वास्ता गरेको देखिदैन । खासगरी प्रेस माथि सरकार आक्रमक ढंगले अघि बढेको पछिल्लो घटनाक्रमले देखाउँछ । प्रेसले सरकारका कामबारे निगरानी गर्छ। कतिपय पक्षमा यसले आलोचना पनि गर्छ। प्रेसले सरकारका गलत काम कारवाही बारे कलम चलाउनु उसको अधिकार हो । राज्यले सहयोगी भूमिका खेल्नुपर्नेमा प्रेसलाई हात धोएर खेदन लागी परेको छ । यस्तो आलोचना सुधारकै निम्ति भइरहेको छ भन्ने विश्वास राज्यलाई हुनुपर्छ।

सरकारले प्रेसमाथि अनावश्यक नियन्त्रणको उद्देश्य राख्नु त्यति राम्रो कुरा होइन ।
मुलुकमा राजनीतिक परिवर्तनमा प्रेसको भूमिका महत्वपूर्ण छ । भारतीय नाकाबन्दीमा प्रेसले रचनात्मक भूमिका खेलेको हो। यो कुरा कसैले भुल्न हुदैन ।

अहिले रवि लामिछानेको विषयले सनसनी फैलिएको छ । रविको पक्षमा सडकमा नारा जुलुश भइरहेको छ । हिजो रविका पक्षमा काठमाण्डौमा भएको जुलुशले एकखालको तरंग ल्याएको छ । चितवनको एक होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीको घटनाले मुलुक तताएको छ । उनको आत्महत्या हो या हत्या भन्ने कुरा अझै पत्ता लाग्न सकेको छैन । अनुसन्धानका लागि भन्दै रवि लामिछानेसहित तिनजनालाई प्रहरीले अनुसन्धान गरिरहेको छ । यो घटनाबारे सामाजिक सञ्जाल र सडकमा जनमत बिभाजित छ ।

यो विषय राजनीतिक मुद्दा बन्नु हुदैन । सत्य र तथ्यका आधारमा छानबिन हुनुपर्छ । जसले अपराध गरेको हो त्यो कानुनबाट उम्कन पाउँदैन र उम्कन पनि दिनुहुँदैन । कानुनभन्दा माथि कोही छैन । कानुनको पालना सबै नागरिकले गर्न सिक्नु पर्छ । दोषी ठहर भए कानुनबमोजिम कारबाही भोग्नुपर्छ । अनुसन्धानबाट यो घटनाको तथ्य सत्य कुरा पत्ता लाग्छ । न्यायलयको विश्वास गर्नु पर्छ । अदालतले जे फैसला गर्छ त्यो मान्न तयार हुनुपर्छ

अहिले यो विषय अनुसन्धानको पक्रियामा नै छ । अनुसन्धान निष्पक्ष होस् भन्र्ने आम नागरिकको अपेक्षा हो ।

सरकारको बिश्वास जनतामा हुनु पर्ने थियो । त्यसो भएन र यो सरकारले जे पनि गर्दछ भन्र्ने जनतामा भय थियो त्यो आजको प्रकरणले प्रष्ट भएको छ । रबिलाई फसाउने योजना थियो र त्यो आज सावित भएको संकेत देखिएको छ । अव जनताले नेपालको सरकारवाट सुरक्षा पाइन्छ भनेर नचिताए पनि भयो र संचारजगतले आफू सुरक्षित छौ भन्र्ने नठाने पनि हुने भयो । शर्मा , नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक तथा राजनीतिक बिश्लेषक हुनुहुन्छ ।