काठमाडौं क्षेत्र ५ मा पोखरेल र डा. महतबीच कडा प्रतिस्पर्धा

१२ मंसिर २०७४, मंगलवार ०४:३२

मंसिर १२, काठमाडौं । आसन्न निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं. ५ मा नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेल र नेपाली काँग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

यस क्षेत्रमा विभिन्न दल र तीन स्वतन्त्र गरी प्रतिनिधिसभा सदस्यका लागि कुल २० जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा सदस्यका उम्मेदवार काँग्रेस नेता डा. महतलाई लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरूको समर्थन छ भने एमाले महासचिव पोखरेल वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेको हो ।  दुवै उम्मेदवारले यस क्षेत्रका विकासनिर्माणका मुद्दालाई प्राथमिकतामा राखेर चुनाव प्रचार र घरदैलो अभियानलाई तीव्रता दिनाका साथै मतदातालाई आकर्षित गरिरहेका छन् । पोखरेल यस क्षेत्रबाट तेस्रोपटक उम्मेदवार बनेको हो भने महत यस क्षेत्रमा पहिलोपटक निर्वाचनमा भिड्दै छन् । महासचिव पोखरेल यसअघि २०६४ र २०७० सालका दुवै संविधानसभाको निर्वाचनमा काँग्रेस नेता नरहरि आचार्यसँग पराजित भएको थियो । यस क्षेत्रमा अन्य उम्मेदवार पनि चुनावी प्रचारप्रसारमा व्यस्त रहे पनि बढी चर्चा भने महत र पोखरेलको नै छ ।   प्रतिनिधिसभा सदस्यका लागि यस क्षेत्रमा उम्मेदवारी दिएका अन्य उम्मेदवारहरू विवेकशील साझा पार्टीका उज्ज्वलबहादुर थापा, नेकपा (माले) का दीपक पुनमगर, सङ्घीय समाजवादी फोरमका लक्ष्मी राई, राष्ट्रिय जनता पार्टी नेपालका भानुकुमार खड्कालगायत २० जना चुनावी मैदानमा छन्  ।   नेता डा. महतले यस क्षेत्रमा अवस्थित बूढानीलकण्ठमा अवस्थित पौराणिक, ऐतिहासिक र धार्मिकस्थलको बृहत्तर र सुव्यवस्थित विकास तथा रानीवन क्षेत्रलाई संरक्षण गरी व्यवस्थित नमुना पार्क निर्माण गरी समुदायको हितमा प्रयोगमा ल्याउने योजना अघि सारेको छ ।

 

यस क्षेत्रमा काठमाडौँ महानगरपालिकाका वडाहरू २, ३, ४ र ५ तथा टोखा नगरपालिकाका वडाहरू २, ३, ४, ५, ६ र ७ पर्छन् । त्यस्तै बूढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६ र ७ पनि यस क्षेत्रअन्तर्गत पर्छन् ।
काठमाडौँ–५ अन्तर्गत दुवै प्रदेशसभा निर्वाचनमा पनि काँग्रेस र एमालेकै उम्मेदवारको चर्चा छ । प्रदेश ‘क’ मा काँग्रेसका रमा पौड्याल गुरागार्इं र एमालेका नारायणबहादुर सिलवालको उम्मेदवारी छ । प्रदेश ‘क’ मा विभिन्न दल र स्वतन्त्र गरी कुल १४ उम्मेदवार छन् ।
त्यस्तै प्रदेश ‘ख’ मा काँग्रेसका उम्मेदवार रमेशकुमार खड्का र एमालेका उम्मेदवार दीपक निरौलाको चर्चा छ । प्रदेश ‘ख’ मा विभिन्न दल र स्वतन्त्र गरी कुल १५ जनाले उम्मेदवारी दिएको छ । कुल ६४ हजार ५५० मतदाता रहेको यस निर्वाचन क्षेत्रमा ३१ मतदानस्थलमा ७६ मतदान केन्द्र रहेको निर्वाचन अधिकृत चाणकमणि अर्यालले जानकारी दिए ।

महासचिव पोखरेलले यस क्षेत्रलाई देशकै ‘अस्पताल हब’ बनाउन स्थानीय जननिर्वाचित संस्था, प्रदेश सरकार र केन्द्रीय सरकारलाई क्रियाशील बनाउने प्रतिबद्धता गरेको छ ।   उनले ‘मनमोहन ज्येष्ठ नागरिक सदन’ ‘स्वरसम्राट नारायण गोपाल प्रतिष्ठान’अन्तर्गत अडोटोरियम हल निर्माण, इतिहास बोकेको हाँडीगाउँको विकासलाई विशेष जोड दिने उल्लेख छ ।   पूर्वउपप्रधानमन्त्रीसमेत भइसकेका उनी भन्छन्, “राजधानीसँग जोडिएको शिवपुरी राष्ट्रिय निकुञ्जलाई केन्द्रित गरी पर्यावरणीय पर्यटन, साइक्लिङ जोनको प्रवद्र्धन, भ्यू टावर निर्माणमा जोड दिनेछु । महिला गरिब तथा विपन्न समुदाय र बेरोजगार युवालाई लक्षित गरी रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गरेर अघि बढ्न प्रोत्साहित गर्नेछु ।”  काठमाडौँलगायत ४५ जिल्लामा यही मङ्सिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन दोस्रो चरणमा हुँदैछ । ३२ जिल्लामा भने मङ्सिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न भइसकेको छ ।

निर्वाचन जित्न पोखरेललाई वाम गठबन्धनका र डा. महतलाई लोकतान्त्रिक गठबन्धनका सबै मत तान्नैपर्ने चुनौती देखिन्छ । निर्वाचनमा कसले बाजी मार्ला भनेर हेर्न भने मङ्सिर २१ को निर्वाचन र मतपरिणाम कुर्नैपर्छ ।