काठमाडौंमा ट्रकले ठक्कर दिंदा हजुरआमा र नातिको मृत्यु

९ कार्तिक २०७५, शुक्रबार १६:१९

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका ५ लोलाङ हाइटमा शुक्रबार ट्रकको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु भएको छ ।

लोलाङ हाइटबाट बालाजुतर्फ आउँदै गरेको ना ६ क ७८२६ नम्बरको ट्रकले पैदलयात्री अन्दाजी ६० वर्षकी तिलकुमारी तिवारी र उनका नाति ४ वर्षका आर्जित तिवारीलाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो ।

गोरखाको बुंकोट घर भएका उनीहरु तारकेश्वर नगरपालिका ५ लोलाङ हाइटमा डेरा गरी बस्ने गरेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट गम्भीर घाइते भएका उनीहरुको ग्रिन सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।