काठमाडौँ महानगरपालिको निर्णयः पहिला श्रम, त्यसपछि मात्रै राहत

२१ जेष्ठ २०७७, बुधबार ०९:२८

काठमाडौं महानगरपालिकाले जारी लकडाउनका कारण बिहान–बेलुकीको छाक जोहो गर्न कठिन हुने मजदुर वर्गलाई लक्षित गरी राहतका लागि श्रम गर्नुपर्ने कार्यविधि कार्यान्वयनमा ल्याएको छ । अब महानगरपालिकाले तोकेको काम गर्नेलाई मात्र राहत उपलब्ध गराउनेछ । यसले राहतको दुरुपयोग हुने क्रम रोकिने महानगरपालिकाले जनाएको छ ।

यसअघि राहत वितरण गर्दा हुने खाने व्यक्तिसमेत सहभागी भएपछि त्यसलाई रोक्न महानगरले पहिला श्रम र त्यसपछि मात्रै राहतको नीति अख्तियार गरेको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले मजदुर र विपन्न वर्गलाई लक्षित गरी राहतका लागि अनिवार्य रुपमा श्रम गर्नुपर्ने कार्यविधि कार्यान्वयनमा ल्याइएको जानकारी दिए ।

‘श्रम गरेपछि सोही आधारमा मात्रै राहत दिइनेछ, यो नीति लागु गर्दा वास्तविक श्रमिकले मात्रै सुविधा पाउँछन् र दुरुपयोग हुने क्रम पनि रोकिनेछ,’ प्रमुख प्रशासकीय अधिकृत अर्यालले भने । आजको राजधानी दैनिकमा समाचार छ ।