काङ्ग्रेस महासमिति बैठक र बुद्धिजीवी

९ मंसिर २०७५, आईतवार ११:०८


अर्जुननरसिंह केसी

यति बेला नेपाली काँग्रेस तेह्रौ महासमितिको बैठकद्वारा आफ्नो विधानलाई युगसापेक्ष संशोधन र परिमार्जनसहित संरचनागत परिवर्तनको संघारमा पुगेको छ । विधानका अतिरिक्त धेरैवटा कारण वा दृष्टिकोणबाट पार्टीको आसन्न महासमिति बैठक दूरगामी प्रभाव राख्ने ऐतिहासिक महत्वको हुनेभएको छ । महासमितिको बैठकलाई एउटा खड्गो मान्ने र छल्न खोज्ने पक्ष पार्टीभित्र छँदैछैन भन्न सकिन्न । तर पार्टीका सारा कार्यकर्ताहरूबाट महासमिति बैठकले पार्टीलाई ऊर्जा र उत्साह दिएर जागृत गराउनुपर्छ भन्ने मत सशक्त भएको हुनाले महासमिति बस्ने निश्चितै छ । महासमितिमा जे–जे विचार प्रकट भए पनि ती सबैको समष्टिगत आसय पार्टीलाई आन्तरिक लोकतन्त्रले सुसज्जित, सशक्त र जनप्रिय बनाउने चिन्तनकै अभिव्यक्ति हुनेछन् । परन्तु बौद्धिक सम्पोषण र वैचारिक पुनर्जागरणको लागि पार्टीका हितैषी बुद्धिजीवीहरूको मार्गदर्शन मात्र होइन बौद्धिक दबाब आज जरुरी भइसकेको छ । यस प्रयोजनमा मैले बुद्धिजीवी समुदायको परामर्श, मार्गदर्शन र नैतिक दबाबलाई विशेष महत्व दिएको छु ।
मलाई राम्रोसँग सम्झना छ, आजभन्दा २२ वर्ष अगाडि पहिलो पटक मैले काङ्ग्रेस संसदीय दलबाट, पार्टीमा आन्तरिक प्रजातन्त्र हुनुपर्छ र यसलाई विधिसम्मत तथा संस्थागत रुपबाट चलाउनुपर्छ भन्ने आवाज उठाउँदा ठूलै हिम्मत बटुल्नुपरेको थियो । कतिपय साथीले “पत्ता साफ हुने” तर्क गरेपछि साँच्चै भनुँ भने मलाई केही डर पनि थियो । तर त्यसपछि क्रमशः यो आवाजमा देशभरिका पार्टीका साथीहरूबाट दृढ समर्थन पाएपछि उत्तरोत्तर व्यापक हुँदैगयो । २०६६ कार्तिकमा भएको बाह«ौँ महासमिति बैठकमा आएर यो विचारले अझ मूर्त रुप पाउन थालेपछि पार्टीको संगठनात्मक संरचना र आन्तरिक लोकतन्त्रको विकास अब अनिवार्य आवश्यकताको विषय बनिसकेको छ । यो कसैको पराजय वा विजयको भेद होइन, सबैको समान विजय हो । सबैलाई समेट्नुपर्ने जिम्मेवारी बढेको हुनाले पार्टीको वास्तबिक एकता संरचनात्मक सुधार र आन्तरिक लोकतन्त्रको विकासबाट नै सम्भव हुन्छ भन्ने विश्वास आज बलबान भएको छ । पार्टी भक्तिमार्गमा होइन, शक्तिमार्गमा अघि बढेको जनतालाई सत्य सन्देश दिने उपाय हो ।
निर्वाचनमा पराजय
गत साल २०७४ मा भएका संसदीय, प्रादेशिक र स्थानीय निर्वाचनमा पार्टीले पराजय भोग्नुपर्ने कारण जनताले मत दिन नचाहेकोले होइन । काँग्रेसले आवधिक निर्वाचन हारेको हो, संस्था, इतिहास, राजनीति र यसको छवि हारेको छैन । तर ०५१ को मध्यावधि निर्वाचन र २०६४ को संविधानसभा निर्वाचन पनि हारेको हो भन्दैमा गत निर्वाचनको पराजयलाई बिर्सन सकिन्न । आजको युग कम्युनिस्टको युग होइन, लोकतन्त्रको युग हो । तर युगले जसको औचित्य र सान्दर्भिकता छैन भनेको छ उसको जीत भयो, लोकतन्त्रवादीको औचित्य र सान्दर्भिकता भए पनि लोकतन्त्रको संवाहक काँग्रेस हार्नपुग्यो । समानुपातिक निर्वाचनमा जनताले काँग्रेसलाई इतिहास हेरेर मत दिए । प्रत्यक्ष निर्वाचन ९ँष्चकत उबकत तजभ उयकत भभिअतष्यल० मा वर्तमानलाई हेरेर हराए । जनमतमा काँग्रेसले जितेको छ, मतगणनामामात्र कम्युनिस्ट पार्टीले जितेको छ । यसमा पार्टी नेतृत्वको नीति, नेतृत्व र संरचनामा समन्वय नभएको असंगठित र हचुवा शैली, नेतृत्वको स्वेच्छाचारी गतिविधि निर्वाचन हारमा मूख्य दोषी हुन् भन्ने प्रमाणित भइसकेको छ ।
पार्टी प्रतिबन्धकालको हचुवा र हैकमी कार्यशैलीको धङ्धङेले अझै छोडेको छैन । पार्टीभन्दा ‘पार्ट’ ठूलो, ‘पार्ट’ भन्दा गिरोह ठूलो मान्ने प्रवृत्तिले पार्टी कदापि सुदृढ र सशक्त हुँदैन । ‘विजयका दाबेदार सहस्र हुन्छन्, तर पराजय सँधै बेवारिश हुन्छ’ भन्ने मान्यतालाई पार्टीले चरितार्थ गर्नु हुँदैन । विगतको हारबाट शिक्षा लिन सकिएन भने काँग्रेस कहिल्यै उठ्न सक्दैन । त्यसैले यसबारे आसन्न महासमिति बैठकमा रौँचिरा विश्लेषण हुनुपर्छ र त्यसै आधारमा आइन्दा यस्तो स्थिति दोहोरिन नदिन पार्टीको आत्मा मानिने अनुशासनलाई अनिवार्य र सबल बनाउनेबारे ब्यापक विचारविमर्श हुनुपर्छ ।पार्टी विधानको संशोधन
सत्य र असत्यका बीचको तटस्थता भन्नु नै असत्यलाई साथ दिनु हो । सत्यलाई उपेक्षा गरेर शक्तिको पछि लाग्ने प्रवृत्ति बुद्धिजीवीमा देखाप¥यो भने समाज गतिशील र जीवन्त नहुनु त छँदैछ, संकटका अनेक रुप देखापर्न थाल्ने अवश्यम्भावी हुन्छ । सेक्सपियरले भनेको सम्झन्छु, “खराब मानिसहरूको हिंसाचारबाट होइन, असल मानिसहरूको मौनताले गर्दा विश्वले ज्यादै कष्ट भोग्नुपर्ने हुन्छ” । म यहाँ यो कुरा किन उल्लेख गर्दैछु भने हामी नेपाली काँग्रेसलाई संरचनागत परिवर्तनमा लैजान लागिरहेका छौँ । यसलाई आन्तरिक लोकतन्त्र सबल बनाएर विगतको पराजय र वर्तमानका चुनौतीको सामना गर्नसक्ने अवस्थामा पुनस्र्थापना गर्ने प्रयासमा लागेका छौँ । पार्टी–सभापतिलाई मात्र बलियो अवस्थामा राख्ने साविकको परम्परा युगनिरपेक्ष तथा पुरातन हुनथालेको यथार्थ नेपाली काङ्ग्रेसले विगतमा भोगेको कतिपय तीता वास्तबिकताबाटै प्रमाणित हुन्छ । दोष, हाम्रा ग्रन्थमा होइन, ग्रन्थीमा घुसेका थिए वा छन् । यसको अर्थ सभापतिलाई कमजोर र निरिह बनाइनु पर्छ भन्ने कदापि होइन । आजसम्मका सातजना काङ्ग्रेस केन्द्रीय सभापतिमा सबैजसो सभापतिले हरेक कालखण्डमा ऐतिहासिक कीर्तिमान र प्रतिष्ठा राखेका छन्, जसको व्यापकता नेपालको सरहदभन्दा धेरै परसम्म पुगेको छ । त्यसकारण हाम्रो पार्टी–सभापति पदमात्र होइन, पार्टीको अद्वितीय गौरबशाली संस्था हो । यसको कीर्तिमान र प्रतिष्ठाको निरन्तरता खण्डित हुन दिनुहुँदैन । यो गौरबलाई बचाइराख्नु प्रत्येक कार्यकर्ताको जिम्मेवारी हो । आगामी दिनमा यस पदको दुरुपयोग हुन नदिने प्रत्याभूति विधानमा व्यवस्था हुनुपर्छ । यसका लागि विद्वत वर्गको समर्थनले सुनिश्चितता दिन्छ ।
जब पार्टी राजनीतिमा संस्थागत प्रक्रियाको हत्या हन्छ, सामुहिकताको भावना पनि मर्नथाल्छ, तब गुटबन्दी तीब्र हुन्छ । संस्था र सामुहिकताको अवसानमा विधान र नीतिहरू पनि मृत हुनपुग्छन् । विचार र विवेकको संस्कृतिको अनिकाल लागेको अवस्थामा आखिर महँगो मूल्य, कष्ट र दुर्दिन भोग्ने त आमजनता नै हुन् । त्यस्तो अराजकतावादी परिस्थितिमा राजनीति स्वच्छ रहन सक्दैन, दूषित र दुर्गन्धित हुन्छ, कार्यकर्तालाई आत्मनिर्भर र स्वाभिमानीभन्दा चाकरीकर्ता र दास बनाइन्छ । जनताप्रेमी होइन, नेताप्रेमी कार्यकर्ता प्रिय हुनथाल्छन् । यस्तो अवस्थाको अन्त्य गर्ने प्रयत्न नै हाम्रो देशब्यापी चेष्टा हुनुपर्छ । मैले नेपाली काँग्रेसका लागि उठाउने गरेको वैचारिक पुनर्जागरणको महत्व पनि यो अवस्थाबाट पार्टी राजनीतिलाई जोगाएर लोकतन्त्रको सशक्त माध्यम बनाउने पुनीत लक्ष्यमा केन्द्रित भएरै हो ।
काङ्ग्रेस प्रजातन्त्रको संस्थापक तथा संवाहक शक्ति भएको कारणले महासमितिमा विचारको विवाद, सैद्धान्तिक प्रतिष्पर्धा र कदाचित देखापर्ने व्यक्तित्वको टकराहट नैसर्गिक सत्य हो । यी गतिविधि आन्तरिक लोकतन्त्रका विशेषता पनि हुन् । लोकतान्त्रिक पार्टीमा राजनीति भनेको कसैले कसैलाई टीका लगाएर बक्सिस, दान दिने वा लिने वा उत्तराधिकार सुम्पिने वस्तु होइन भन्ने मान्यता र मर्म स्थापित गर्नुपरेको छ । गाउँघरमा जनतासँगै हातमा ठेला उठाएर काम गरिबसेका समर्पित, मिहिनेती, शालिन र सिदासादा कार्यकर्तालाई समेत अगाडि बढ्ने यसले अवसर र बाटो दिनुपर्छ । वास्तबमा नयाँ विधानले हामी सबैलाई जिम्मेवार बनाउनुपर्छ, कर्तब्यको अभिभारा थप्नुपर्छ । एउटा सभापतिलाई रिझाएपछि कसैप्रति जिम्मेवार र उत्तरदायी हुनु नपर्ने विकृतिलाई नियन्त्रण गरेर निर्वाचित सामुहिक नेतृत्व पद्धतिले सबैलाई संगठित गर्नुपर्ने जिम्मेवारीको परिपाटी बसाल्नु पर्छ ।
महासमितिले पारित गरेको विधानको परिणाम र प्रभाव पार्टीको आगामी चौधौँ महाधिवेशनमा देखिनुपरेको छ । यसवीचमा हामीमाथि आएका केही यक्ष प्रश्न र परिक्षाको हामीले जनतालाई चित्त बुझ्ने प्रकारले सामना गर्नुछ । नेपाली काङ्ग्रेस र तराई पर्यायवाचीजस्तो लाग्दथ्यो, आज तराईमा हाम्रो गढ किन भत्कियो रु काङ्ग्रेसलाई जनजाति र दलितको पार्टी भनिन्थ्यो, त्यो कसरी ओझेलमा पर्न पुग्यो रु महिला समुदायको सबैभन्दा बढी समर्थन तथा सहयोग प्राप्त गर्ने पार्टी नेपाली काङ्ग्रेस नै हो, तर आज यसमा ह्रास आउनुको कारण के हो ? साविकमा पार्टीको नेतृत्व तरूण उमेर समुहको हातमा थियो, आज तरूणहरूलाई नेतृत्वको हैसियतबाट केले पछाडि पा¥यो । पार्टीमा नयाँ पुस्ताको सहभागितामा किन शिथिलता आइरहेको छ रु पार्टीको लक्षलाई सर्बप्रथम २००४ सालमा नेपालको माटोमा आन्दोलनद्वारा उतार्ने र २००७ को जनक्रान्तिलाई सफल बनाउन बलिदानी सहयोग दिने वर्ग मजदूर नै हो, तर आज मजदूर फाँटमा पार्टी किन कमजोर भइरहेको छ रु आसन्न महासमितिको बैठकमा यी सबालहरूमाथि सशक्त मन्थन हुनुपर्छ र निष्कर्ष पाउनुपर्छ ।
महासमितिले पार्टीको विधान पारित गर्न धेरै समय र ऊर्जा खर्च गर्नुपर्दा माथि उल्लेखित प्रश्न र अन्य एजेण्डामाथि यथेष्ट छलफल र निष्कर्ष बनाउन नसकिएला । काङ्ग्रेसको आगामी स्वरुप, संरचना, संगठन निर्माण, सामना गर्नुपर्ने चुनौति र आन्तरिक लोकतन्त्रको कार्यान्वयन, महासमितिले दिएको म्याण्डेटलाई हामीले साकार बनाउनु छ । उत्साहको नयाँ वातावरणमा हामीले यी विषयलाई उचित टुङ्गो दिनुछ ।
म यहाँ आसन्न महासमिति बैठकले टुङ्गो लगाउनुपर्ने एजेन्डाका बुँदा प्रस्तुत गर्दछु—
१।पार्टीका सबै पदाधिकारी संसदीय समिति, लेखा समितिका पदाधिकारी तथा सदस्यहरू, अनुशासन समितिका अध्यक्ष र सदस्यहरू लगायत ८५ प्रतिशत केन्द्रीय सदस्यहरू महाधिवेशनबाट निर्वाचित हुनुपर्छ ।
२।समानुपातिक प्रतिनिधित्व जनसंख्याको आधारमा गराइनु पर्दछ । एकपटक समानुपातिकमा अवसर पाएकालाई सरकारी स्तरमा होस् या पार्टीस्तरमा, दोहो¥याउनु हुँदैन ।
३। पार्टीको विधानमै एक व्यक्ति एक पदको प्रावधान राख्नुपर्छ ।
४।काँग्रेसको पार्टी संगठनलाई कार्यकर्तामा आधारित ९क्याडर बेस्ड्० र जनसमुदायमा आधारित, बीचको संयोजनपूर्ण बाटोबाट अघि बढाउनुपर्छ ।
५।भातृसंस्थाहरूको विधान र संस्थागत विकासमा हस्तक्षेप नगरी पूर्ण लोकतान्त्रिक प्रक्रियाद्वारा आवधिक निर्वाचन सुनिश्चित गर्नुपर्छ ।
६।भ्रष्टाचारबिरूद्ध सचेतना अभियानका साथै यसबिरूद्ध विभिन्न कार्यक्रम चलाई पार्टीलाई शुद्धीकरण र सुदृढीकरण गर्नुपर्छ ।
७।नयाँ पुस्तालाई आकर्षण दिने र नेतृत्वको विकास गर्ने अवसर र वातावरण पार्टीभित्र संस्थागत रुपले विकसित गर्नुपर्छ । पद्धति, विचार र आचरणलाई एकीकृत तरिकाबाट प्रोत्साहित गर्नुपर्छ ।
८।पार्टीलाई प्रजातान्त्रिक समाजवादको बाटोबाट अगाडि बढाउन गतिशील सामाजिक न्याय, सुरक्षा, मूल्य, समावेशीकरणका मान्यताहरूलाई व्यापक परिमार्जन गर्दै पार्टीभित्र देशब्यापी प्रशिक्षण तथा वैचारिक पुनर्जागरण अभियान सञ्चालन गर्नुपर्छ ।
९।परराष्ट्र सम्बन्धलाई सुदृढ गर्नुका साथै मुलुकबाहिर रहे–बसेका पचासौँ लाख नेपाली नागरिकहरूको पेशागत र जीवन सुरक्षालाई केन्द्रित गर्दै पार्टीको प्रभावलाई अझ विस्तार र प्रगाढ बनाउनु पर्छ ।
१०।महाधिवेशन हुने वर्षबाहेक नेपाली कांग्रेस महासमितिको बैठक पार्टीको विधानअनुसार प्रत्येक वर्ष अनिवार्यतः हुनुपर्छ । निर्वाचन महाधिवेशन र नीति निर्माण महाधिवेशन गरी एक कार्यकालमा दुई प्रकारका महाधिवेशन गर्ने व्यवस्था हुनुपर्छ ।
११।महासमितिको बैठकमा हाम्रा विगतका भूल–चुक, कमि, कमजोरी र गल्तीहरूउपर कसैप्रति निहित आग्रह वा पूर्वाग्रह नराखी आस र त्रासबाट मुक्तभएर उदात्त मानसिकताका साथ छलफल गरी संस्थागत निष्कर्षमा पुग्नु अनिवार्य छ ।
१२।सामुहिक नेतृत्व, विधिसंगत तथा संस्थागत प्रक्रिया, पारदर्शिता, योगदान तथा दक्षता एवं निष्पक्षता आधारमा पद्धति र प्रक्रियामा पार्टी सुदृढीकरणले मात्र आजका चुनौतीहरूको सामना गर्न सकिन्छ ।
१३। पार्टीलाई नेताप्रधान होइन, नीति र संस्था–प्रधान हुने सुनिश्चितता प्रदान गर्नुपर्छ ।
सत्तारुढ पार्टी बलियो छ, तर जिम्मेवार छैन । हिंसा, मुठभेड र अराजकतामा उसको राजनीतिक पृष्ठभूमी र गतिविधि आधारित भएको हुनाले विचारको राजनीतिभन्दा अराजकतावादी बोलवाला छ । हिंसा र अराजकतामा विश्वास हुनेलाई संविधानमाथि आस्था वा विश्वास हुँदैन । संकटको पिँधैमा पुगिसकेको नेपाल असफल राज्यको घोषणा हुने खतरामा छ । यो कुनै प्राकृतिक प्रकोपको परिणाम होइन, मानवीय व्यवस्थाको विफलताको परिणाम हो ।
नदी बाङ्गोटिङ्गो बगे पनि बहाव अग्रगतिशील नै हुन्छ । भनिन्छ, बादल जतिसुकै कालो होस् तर त्यसमा चाँदीको घेरा टल्किरहेको हुन्छ । मुलुक जतिसुकै संकटग्रस्त होस् तर समाधानका सम्भावना मानिसहरूसँगै जीवित हुन्छन् । जातीय, धार्मिक र भाषागत विविधतामा राष्ट्रिय एकता खोज्नु नेपाली काङ्ग्रेसको अनवरत चेष्टा हो । हिमाली, पहाडी, तराईबासी–मधेसी सबैलाई राष्ट्रिय परिवारका समान अंशियार सन्तान मान्ने हाम्रो आदर्श, संस्कार र सभ्यता हो । समताका साथ ममता, अधिकारका साथ आत्मीयता, वैभवका साथ सादगी र सदाचार नेपालको नवनिर्माणका परम्परागत स्तम्भ हुन् । यिनै आधारस्तम्भमा अडिएर भावी नेपालको रुप स्थापित गर्ने संकल्प हाम्रो लोकतन्त्रको अन्तिम लक्ष हुनुपरेको छ । आसन्न महासमितिबाट हामी यही दिशानिर्देशको अपेक्षा गर्नसक्छौँ । लुम्विनी अनलाइनवाट