कांग्रेस महासमिति बैठकमा तीनवटा प्रतिवेदन पेश

१ पुष २०७५, आईतवार १६:३१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठकमा आइतबार तीन वटा प्रतिवेदन पेश भएका छन् । काठमाडौंको एक पार्टी प्यालेसमा जारी महासमिति बैठकमा आइतबार बिहान महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव र सह–महामन्त्री डा प्रकाश शरण महतले छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

कांग्रेस नेता तथा साँसद देवप्रसाद तिमलसिनाका अनुसार महामन्त्री कोइरालाले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष यादवले आर्थिक प्रतिवेदन, सहमहामन्त्री तथा अर्थ नीति निर्माण समितिका संयोजक महतले आर्थिक दस्तावेज प्रस्तुत गरेको जानकारी दिए ।
शनिबार उद्घाटन भएको महासमिति बैठकमा गएराति उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । ५ वटा प्रतिवेदन पेश हुनुपर्नेमा महासमिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधनको प्रस्ताव पेश गर्न भने बाँकी छ ।
नेता देवप्रसाद तिमलसिनाका अनुसार बैठकमा पेश भएका चारवटै प्रतिवेदनमाथि आजैबाट बन्द सत्रमा छलफल शुरु हुनेछ । छलफललाई ७ वटा समूह बनाएर प्रदेशस्तरीय रुपमा अघि बढाउने तयारी गरिएको उनले बताएका छन ।