कांग्रेस–एमालेबीच आरोप–प्रत्यारोपका कारण सरकार गठनमा कठिन

५ पुष २०७४, बुधबार ०२:३६

पुस ५, काठमाडौं । मुख्य तीन दल कांग्रेस, एमाले र माओवादीबीचको संवादहीनताका कारण राजनीतिक सहमति जटिल बनेको छ ।

राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र नयाँ सरकार गठनका विषयमा निर्वाचनबाट ठूलो दल बनेर आएको एमाले र खुम्चिएको कांग्रेसबीच मत बाझिएपछि सहमति टाढिएको हो ।  कांग्रेस सत्ता हस्तान्तरण अघि राष्ट्रपतिकहाँ पठाएको राष्ट्रियसभा निर्वाचन अध्यादेश राष्ट्रपतिले जारी गरी सभा गठनको बाटो खोल्नुपर्ने अडानमा छ । कांग्रेसले सत्ता लम्ब्याउन आफू अनुकुल कानुन बनाउन खोचे थापेको आरोप एमालेले लगाएपछि सत्ता हस्तान्तरण प्रक्रिया जटिल बनेको हो ।

कांग्रेस–एमालेबीच यही आरोप–प्रत्यारोपका कारण प्रतिनिधि तथा प्रदेशसभा प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएको अवस्थामा पनि नयाँ सरकार गठनको बाटो खुलेको छैन ।  सहमतिको खोजीमा लाग्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल तत्पर देखिए पनि एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भने महिना दिनयता संवादसमेत भएको छैन ।  दाहाल भने ओली–देउवा दुवैसँग छलफलमा छन् । वाम गठबन्धनका कारण पनि ओलीसँग उनको हिमचिम बढी नै छ । प्रधानमन्त्री देउवासँगको भेटघाटलाई पनि उनले निरन्तरता दिइरहेका छन् ।

सरकारले एकल संक्रमणीय प्रणालीका आधारमा राष्ट्रियसभा सदस्य चुनिने गरी दुई महिनाअघि राष्ट्रपतिकहाँ अध्यादेश पठाएको थियो । राष्ट्रपतिले विधेयक स्वीकृत नगर्नुमा एमालेको उक्साहट दोषी रहेको आरोप कांग्रेसको छ । उता, एमालेले राष्ट्रपतिलाई प्रधानमन्त्रीको कुर्सीबाट असंवैधानिक काम गर्न उक्साउने काम कांग्रेसले गर्न खोजेको आरोप लगाइरहेको छ । –अन्नपूर्ण पोस्ट दैनिक