कांग्रेसमा विधान संशोधनको सकस

५ पुष २०७५, बिहीबार १५:२२

काठमाडौं । नेपाली कांग्रेसको विधान मस्यौदामा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे सहमति हुन नसक्दा जारी महासमिति बैठकमा त्यससम्बन्धी प्रतिवेदन अझै पेश हुन सकेको छैन ।शीर्ष नेताबीच भएको सहमति पनि तत्काल भाँडिने अवस्थामा पुगेको छ । पदाधिकारीको विवादले महासमिति बैठकमा यसअघि नै पेश भएका राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनमाथिको छलफलसमेत ओझेलमा परेको छ ।महासमिति बैठकमा बोल्ने सहभागीहरूले छलफलका लागि विधान मस्यौदासम्बन्धी प्रतिवेदन माग गरे पनि त्यससम्बन्धी प्रतिवेदन अझै पेश हुन सकेको छैन । पदाधिकारीको सङ्ख्या र चयन प्रक्रिया विवादमा सहमति खोज्ने भन्दै पार्टीको पाँच दिनदेखि राजधानीमा जारी महासमिति बैठकको केही समयसमेत दिनुहँ प्रभावित हुँदै आएको छ ।

लामो रस्साकस्सीपछि मङ्गलबार राति शीर्षनेताबीच त्यसमा सहमति भए पनि बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट प्रतिवेदनको उक्त सहमति पारित हुन सकेन । बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले पदाधिकारी समावेशी नभएको भन्दै शीर्षनेताहरूले गरेको सहमतिमा असहमति प्रकट गरे ।बैठकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर, महेन्द्र यादव, फरमुल्ला मन्सुर, किशोरसिंह राठौर, सीता गुरुङलगायतले धारणा व्यक्त गरेका थिए । उनीहरूले नेतृत्वले गरेको सहमति समावेशी नभएको भन्दै अमान्य बताएका थिए ।विरोध गर्ने नेताहरू सभापति शेरबहादुर देउवा निकटका भएको भन्दै सहमति भाँड्न खोजेको आरोप रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालगायतका नेताले लगाएका छन् ।बैठकमा वरिष्ठ नेता पौडेलले मात्र आफ्ना धारणा व्यक्त गर्दै केही केन्द्रीय सदस्यहरूले पदाधिकारी थप गर्ने विषयमा आफूलाई समावेशी विरोधी चित्रित गर्न खोजिएकामा दुःख व्यक्त गरेका थिए ।शीर्ष नेतृत्वले मङ्गलबार विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, दुई सहमहामन्त्री र एक कोषाध्यक्षसहित आठ पदाधिकारी रहने र कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने सहमति गरेको थियो । साथै कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनयन गर्ने र कूल १६१ सदस्यीय केन्द्रीय समितिमध्ये ३३ जना समावेशीताका आधारमा सभापतिबाट मनोनीत हुने सहमति भएको थियो । काङ्ग्रेसमा संस्थापन पक्ष पदाधिकारी सङ्ख्या धेरै बढाउन नहुने र बढाए पनि सबैको निर्वाचन गर्न नहुने पक्षमा छ । संस्थापनइतर पक्ष भने केन्द्रीय कार्यसमितिको सङ्ख्या बढाएसँगै पदाधिकारी सङ्ख्या पनि बढाउनुपर्ने र सबै पदाधिकारी निर्वाचित हुनुपर्ने अडानमा छ । दुवै पक्षको अडानका बीच मङ्गलबार सो सहमति भएको थियो । कांग्रेसको विधानमा हाल कूल ८५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ, जसमा पदाधिकारीमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित तथा एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनयन हुने प्रावधान छ ।