कांग्रेसभित्रको गुटबन्दी अन्त्य हुन्छः नेता केसी

२५ भाद्र २०७६, बुधबार १४:२९

गाईघाट , नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीभित्र लामो समय देखिको चरम गुटबन्दी पार्टीको आगामी १४ औँ महाधिवेशनबाट अन्त्य हुने बताउनु भएको छ ।

मङ्गलबार १०६औँ बिपी जयन्तीको अवसरमा पार्टीको दोस्रो जनजागरण अभियानअन्तर्गत नेपाली कांग्रेस उयदयपुरले गाईघाटमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा केन्द्रिय सदस्य तथा पूर्वमन्त्री केसीले ‘पार्टीको १४औँ महाधिवेशनबाट पार्टीभित्रको गुटबन्दी देशैभरिबाट अन्त्य हुने बताउनु भयो । यसमा सबै अगुवा पार्टी कार्यकर्ताले अहिलेबाटै जिल्ला–जिल्लादेखि यो अभियान थाल्नु पर्ने कुरामा केसीले जोड दिनु भयो ।

नेपाली कांग्रेस पार्टी बिपीको विचारबाट सञ्चालन भएको हुनाले अहिले बिपीको विचारको मिथ्या व्याख्या गरेर पार्टीभित्र गुटबन्दी गर्ने सबै नेताहरुलाई आगामी महाधिवेशनबाट ठिक ठाउँमा ल्याउनुपर्ने उहाँको भनाइ थियो । गुटबन्दीको अन्त्य गर्नेगरी अहिले आफूहरुले समेत अभियान चलाइरहेको धारणा नेता केसीको थियो ।