काँग्रेस नेता पौडेलका ‘बागी’ जोशीको उम्मेदवारी रद्द

१८ कार्तिक २०७४, शनिबार १६:३६

कात्तिक १८, काठमाडौं । निर्वाचन आयोगले तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले दिएको उम्मेदवारी खारेज गरेको छ ।

आयोगको शनिबार बसेको बैठकले नेता जोशीले दिएको स्वतन्त्र उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो । जोशीविरुद्ध सोही क्षेत्रका कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले दिएको उजुरीका सम्बन्धमा तनहुँस्थित मुख्य निर्वाचन अधिकृतले आयोगबाट निर्देशन माग गरेपछि आयोगले बैठक गरी खारेज गर्ने निर्णय गरेको हो ।

 

आयोगले नैतिक पतन देखिने उम्मेदवार अयोग्य हुने कानुनी व्यवस्थालाई टेक्दै जोशीको उम्मेदवारी बदर गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको प्रवक्ता नवराज ढकालले जानकारी दिए । तनहुँ–१ बाट आफूले उठ्न पाउनु पर्ने भन्दै कांग्रेस नेतृत्वसँग बारम्बार आग्रह गर्दा टिकट नपाएपछि जोशीले आधिकारिक उम्मेदवार पौडेलविरुद्ध ‘बागी’ उम्मेदवारी दिएका थिए ।

 

जोशीको उम्मेदवारीले आफूलाई अफ्ठ्यारो पर्ने भएपछि नेता पौडेलले शुक्रबार जोशी भ्रष्टाचारका मुद्दामा दोषी करार भएका व्यक्ति भएकाले उम्मेदवारी बदर गर्न उजुरी दिएका थिए ।  आयोगले उम्मेदवारहरुको अन्तिम नामावली आइतबार (भोलि) प्रकाशित गर्नेछ । आयोगले आइतबार नै उम्मेदवारहरुलाई निर्वाचन चिह्नसमेत प्रदान गर्नेछ । उम्मेदवारी दर्ता गराएकाहरुले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहे आइतबार नै फिर्ता लिनसक्ने आयोगले जनाएको छ ।