काँग्रेसले निर्वाचनका लागि घोषणापत्रसहित सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने

२४ कार्तिक २०७४, शुक्रबार ०१:५१

कात्तिक २४, काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जिल्लास्तरमा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ।

काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको पार्टी केन्द्रीय निर्वाचन परिचालन समितिको पहिलो बैठकले आफ्ना उम्मेदवारलाई निर्वाचन क्षेत्रमा कार्यकर्ताको परिचालन, समन्वय, जनसम्पर्क र निर्वाचन क्षेत्रको अवस्थाका बारेमा केन्द्रमा जानकारी गराउनसमेत निर्देशन दिएको छ।  बैठकले पार्टीका सदस्य, भ्रातृ एवं शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यका साथै लोकतन्त्रवादी सबैलाई काँग्रेसका उम्मेदवारलाई विजयी गराउने अभियानमा सरिक हुन पनि आह्वान गरेको पार्टी कार्यालयले जनाएको छ।

 

समिति संयोजक बालकृष्ण खाँडको अध्यक्षतामा बसेको बैठकले काठमाडौँस्थित काँग्रेसका जिल्ला सम्पर्क समितिलाई पनि निर्वाचनमा परिचालन गर्ने निर्णय गरेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।   बैठकले निर्वाचनका क्रममा निर्वाचन आचारसंहिताको परिधिभित्र रही हरेक निर्वाचन क्षेत्रमा घोषणापत्रसहित प्रचारप्रसार सामग्री केन्द्रबाट निर्वाचन क्षेत्रमा नै पर्याप्त संख्यामा पुर्याउने निर्णय गरेको छ।   बैठकले निर्वाचनमा पार्टीका कार्यकर्ता, भ्रातृ संगठन, शुभेच्छुक संघसंस्था र पेशागत संघसंस्थाको प्रभावकारी परिचालनका सम्बन्धमा रायसुझाव संकलन गरी रणनीति तयार गर्ने निर्णय गरेको मुख्य सचिव पौडेलले जानकारी दिए।