काँग्रेसमा नेताहरुबीच पानी बाराबार

७ कार्तिक २०७५, बुधबार १२:४५

भातृ संगठन नेविसंघको विवाद मिलाउन नसकेपछि काँग्रेसका शीर्ष नेता नै आरोप प्रत्यारोपमा उत्रन थालेका छन् ।

नेतृत्वले कुनै निर्णय गर्न नसकेपछि काँग्रेसको भातृ संगठन नेविसंघको आगामी कार्तिक १६ गतेबाट सुरु हुने भनेको अधिवेसन नहुने पक्का जस्तै भएको छ भने यहि विवादका कारण मंसिरमा हुने भनिएको महासमिति बैठक पनि अनिश्चित बन्दै गएको छ । खासगरी नेविसंघमा ३२ वर्षे हदम्यादसहितको विधान काँग्रेस केन्द्रीय समितिमा बहुमतले पारित भएपछि नेताहरुमा बढेको असमझदारीले गर्दा पार्टी बैठक नै अनिश्चित भएको छ । काँग्रेस प्रवक्ता शर्मा चाँडै केन्द्रीय समिति बैठक बोलाउने दाबी गर्छन् ।

२१ असोजमा बसेको केन्द्रीय समिति बैठकले नेविसंघको विधान पारित गरेको थियो । त्यसमा बरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह लगायतका नेताहरुले नोटअफ डिसेन्ट लेखेका थिए । त्यसयता दर्जनौँ निर्णयहरुलाई कार्यान्वयन गर्न लगातार काँग्रेस बैठक बस्नुपर्ने भएपनि काँग्रेस नेताहरु संवादविहीन भएर बसेका छन् । असोज २१ गते मध्यरातमा सभापति शेरबहादुर देउवा समूहले बहुमतको बलमा नेविसंघमा उमेरहद लगाउँदै विधान पारित गरेपछि देउवा इतरका नेताहरू असन्तुष्ट बनेका थिए ।

२५ असोजमा बोलाइएको बैठक पौडेल लगायतका असन्तुष्ट नेताहरुले बहिष्कार गर्ने तयारी गरेपछि सभापति देउवाले बैठक नै स्थगित गर्न पुगेका थिए । यसअघिको काँग्रेस बैठकले तय गरेको मंसिर ५ देखि ९ गतेसम्मको महासमिति बैठक र कार्तिक १६ मा सुरु हुने भनेको नेविसंघको अधिवेशनबारे नेताहरुबीच कुनै छलफल र परामर्श नै हुन नसकेको नेताहरुले बताएका छन् ।

यसका लागि केन्द्रीय समिति बैठक आवाश्यक छ ।, सभापति देउवाले बैठक नै आव्हान नगरेको पौडेल पक्षको आरोप छ । उता देउवा पक्ष भने बरिष्ठ नेता पौडेल र अर्का नेता कृष्ण सिटौलाका कारण काँग्रेस अनिर्णयको बन्दी बनेको बताइरहेको छ । काँग्रेस नेता डा शेखर कोइराला काँग्रेसमा संवादविहीनताको अवस्था आएको बताउँछन् ।