कर्मचारीकै पेन्सन धान्न नसक्ने अवस्था भइसक्योः पौडेल

१५ आश्विन २०७७, बिहीबार ०९:४९

काठमाडौं, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय फुटाएमा विरोधमा उत्रिने बताउनु भएको छ ।

मन्त्रालय फुटाएर मन्त्री पद बाँड्ने गैरजिम्मेवार प्रवृत्तिलाई नयाँ संविधानले अन्त्य गर्न खोजे पनि त्यसको उलंघन गर्न खोजिएको भन्दै पौडेलले विरोध गर्नु भएको हो ।

‘जनतालाई सर्वसुलभ स्वास्थ्य सुविधा दिन नसकिरहेका बेला फेरि मन्त्रालय बढाउने काम गरियो भने त्यसको घोर विरोधमा हामी उत्रने छौं,’ पौडेलले बिहीबार फेसवुकमा लेख्नु भएको छ ।

देशले कर्मचारीको पेन्सनसमेत धान्न नसक्ने अवस्था सिर्जना भइसकेको उहाँको भनाइ छ।

‘देश विकास गर्ने सारा बजेटलाई अनावश्यक भर्ती केन्द्र खोलेर विना दरबन्दी जतासुकै मनपर्दी ढंगले मान्छे भर्ने काम कम्युनिष्टले चलाएका छन्। कर्मचारीकै पेन्सन धान्न नसक्ने अवस्था भइसक्यो,’ पौडेलले भन्नु भएको छ ।

देशलाई भार मात्रै पर्ने गरी प्रधानमन्त्रीले आफ्नो सुविधाका लागि मन्त्रालय फुटाउन नहुने पौडेलको भनाइ छ।