कराँतेका च्याम्पियन टोलीलाई स्वागत

१८ पुष २०७४, मंगलवार ०६:२९

पुस १८, बुटवल ।
भारतको राजधानी नँया दिल्लीमा सम्पन्न दक्षिण एशियाली कराँते तथा किकबक्सिङ प्रतियोगीतामा च्याम्पियनसिप भएका नेपाली खेलाडीलाई स्वदेश फिर्ता हुने क्रममा रुपन्देहीको बेलहीयामा स्वागत गरीएको छ ।

नेपाल–भारत मैत्री समाज रुपन्देही र जापान गोजुरियो कराँते डोजांग मिसन संघ रुपन्देहीले सयुक्त रुपमा कार्यक्रम गरी प्रतियोगितामा नेपाली खेलाडीहरुले ऐतिहासिक सफलता प्राप्त गरेको भन्दै स्वागत गरेको हो । प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गरेको जापान गोजुरियो कराँते डोजांग मिसन संघका २१ खेलाडीहरु सबैले पदक जित्न सफल भएका थिए । नेपाली टोलीले १६ स्वर्ण सहित ४ रजत र १ काश्य पदक जित्दै च्याम्पियन भएको थियो । विजेता खेलाडी, प्रशिक्षक तथा टोलीमा सहभागी प्रतिनिधि मण्डललाई सीमा नाकामा आयोजना गरिएको स्वागत कार्याक्रममा बोल्दै नेपाल–भारत मैत्री समाज रुपन्देहीका अध्यक्ष डा.शान्तकुमार शर्मा, रुपन्देहीका निमित्त प्रहरी प्रमुख डिएसपी डिल्लीनारायण पाण्डे, संघका केन्द्रीय सचिव शतिश चौधरी, कराँतेका पश्चिमाञ्चल अध्यक्ष भरतबहादुर केसी, भैरहवा भन्सार कार्यालयका निमित्त प्रमुख गोपाल खत्रीलगायत यस क्षेत्रका संघसंस्थाका प्रमुखहरुले स्वागत गरेका थिए ।

सो अवसरमा बोल्दै संघसंस्थाका प्रमुखहरुले अन्तर्राष्ट्रिय खेलमा सहभागी भई नेपाल र नेपालीको गरिमालाई उच्च बनाएको भन्दै खेलाडी र सहभागी टिमको प्रशंशा गर्दै बधाई ज्ञापन गरेका थिए । मार्शल आर्टस् स्कुल एशोसियसन अफ ईन्डियाको आयोजनामा भएको प्रतियोगितामा भारतीयय टिम दोश्रो स्थान र श्रीलंकाको टिम तेश्रो स्थानमा रहे । दिल्लीस्थित तालकटोरा ईन्डोर स्टेडियममा सम्पन्न प्रतियोगितामा नेपाल, आयोजक भारतसहित श्रीलंका, भुटान, बंगलादेश र मालदिभ्सका गरी २ सय बढी खेलाडीले प्रतिष्पर्धा गरेका थिए ।